काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीच चर्किएको तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले सबै सम्भव उपायहरू अवलम्बन गर्ने बताएकी छन्। साथै, स्वदेश फर्कन चाहने नेपालीको उद्धारका लागि तयारी थालिएको जानकारी दिइएकी छ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँगको संयुक्त बैठकमा डा. राणाले वर्तमान परिस्थिति र सरकारी तयारीबारे जानकारी दिँदै भनिन्, “इजरायलस्थित नेपाली दूतावास परराष्ट्र मन्त्रालयको समन्वयमा सक्रिय रूपमा कार्यरत छ। स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण सङ्कलन गर्नका लागि रजिस्ट्रेसन खुला गरिएको छ र उद्धारका लागि आवश्यक तयारीमा सरकार जुटिरहेको छ।”

advertisement

उनले इजरायलसँग भएको सरकारी–सरकारी (G2G) सहमतिअन्तर्गत कार्यरत नेपालीहरू सुरक्षित स्थानमा जान वा नेपाल फर्कन चाहने अवस्थामा सो प्रक्रिया सहज बनाउने दायित्व इजरायल सरकारको समेत भएको उल्लेख गरिन्। “सीमावर्ती मुलुकहरू हुँदै नेपालीहरूलाई सुरक्षित रुपमा निकास गराउन इजरायल सरकारलाई औपचारिक अनुरोध गरिसकिएको छ,” उनले भनिन् ।

श्रममन्त्री शरदसिंह भण्डारीले बैठकमा बोल्दै इजरायलस्थित नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए। उनले हाल इजरायल जान तयारी अवस्थामा रहेका श्रमिकलाई अस्थायी रूपमा श्रम स्वीकृति रोकिएको पनि बताए।

इजरायल–इरानबीच यही जुन १३ (असार १) मा युद्ध सुरु भएपछि नेपाल सरकारले त्यसै दिन संयमता अपनाउन र संवादबाट समस्या समाधान गर्न दुबै पक्षलाई अपिल गरेको थियो। त्यससँगै, इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित दूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरिएको थियो।

जुन १५ मा मन्त्रालयले पहिलो ट्राभल एड्भाइजरी जारी गर्दै ती देशहरूमा रहेका नेपालीलाई सतर्क रहन र सुरक्षा उपायहरू अपनाउन सुझाएको थियो। हाल हवाई आवागमन बन्द रहेको अवस्थालाई दृष्टिगत गर्दै सीमावर्ती मुलुकतर्फ जान चाहने नेपालीका लागि ‘अनलाइन भिसा’ सुविधा प्राप्त गर्न मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ।

यसबाहेक, खाडी क्षेत्रका सबै नेपाली नियोगलाई आवश्यक सहजीकरण गर्न र त्यहाँ रहेका नेपालीसँग नजिकको सम्पर्क राख्न निर्देशन दिइएको छ। मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत हालसम्म ६०० भन्दा बढी नेपालीले स्वदेश फर्कनको इच्छा जनाउँदै विवरण दर्ता गराइसकेका छन्।

यसै सन्दर्भमा, मन्त्री डा. राणाले हालै नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बाससँग भेट गरी नेपालीहरूको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेकी छन्। साथै, इजरायलस्थित नेपाली दूतावास तथा इरान हेर्ने कतारस्थित दूतावासलाई सम्बन्धित अधिकारी, गैरसरकारी संस्था तथा नेपाली समुदायसँग निरन्तर सम्पर्क राख्न र ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ।

सरकारी तथ्यांकअनुसार हाल इजरायलमा झन्डै ५,५०० देखि ७,००० नेपाली नागरिक रहेका छन्, जसमा अधिकांश तेल अभिव, जेरुसेलम र हाइफामा बसोबास गर्छन्। इरानमा भने हाल १८ जना नेपाली रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com