ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको चक्रपथ अन्तर्गत कलङ्की–कोटेश्वर खण्डमा निर्माण गरिएको ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन्। नेपालमै पहिलोपटक निर्माण गरिएको यस प्रकारको फ्लाइओभरले उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ युगको थालनी गरेको प्रधानमन्त्रीको भनाइ छ।
आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण गरिएको फ्लाइओभरको लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ परेको छ। कुल ५०० मिटर अप्रोच सडकसहित ३५ मिटर स्पानको चार लेनको यो पुल २०७८ सालदेखि निर्माण सुरु गरिएको हो। विशेषगरी ग्वार्को चोकमा हुने भीडभाड र सवारी जामलाई लक्षित गरी निर्माण गरिएको यो संरचना अब यातायात सहज बनाउने प्रधानमन्त्री ओलीले बताए।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र बनाउँदै देशले बहुआयामिक र चौतर्फी प्रगति गर्दै गएको उल्लेख गरे। “हामी निरन्तर विकासको मार्गमा छौं,” प्रधानमन्त्रीले भने, “दैलेखमा हालै मात्र गरिएको अन्वेषणमा नेपालमा ५० वर्षसम्म पुग्ने मिथेन ग्यासको भण्डार पुष्टि भएको छ। मैले प्रधानमन्त्री छँदा सुरु गरिएको उक्त उत्खनन कार्यबाट देशलाई आर्थिक लाभ हुनेछ।”
उनले धौवादी फलाम परियोजनाको सुरुवातपछि नेपालमै फलाम उत्पादन सुरु हुने र देशको अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे। “यसबाट विदेशी मुद्राको बहिर्गमन रोकिनेछ, स्वदेशमै रोजगारी सिर्जना हुनेछ, र औद्योगिक आत्मनिर्भरताको युग सुरु हुनेछ,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, खनिज उत्खनन, नयाँ उद्योग स्थापना, सामाजिक तथा प्रशासनिक सुधारमार्फत समग्र विकासको बाटोमा अघि बढ्ने योजनाको पनि घोषणा गरे।
निराशा र असन्तुष्टिबाट टाढा रहन आग्रह गर्दै प्रधानमन्त्रीले आशा र सम्भावनाका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिए। “सुनकोसी–मरिन डाइभर्सन आयोजना, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायतका आयोजना देशको विकासको मेरुदण्ड बन्नेछन्,” प्रधानमन्त्री ओलीले भने, “यी परियोजनाले तराईको मुहार फेर्नेछ, मेचीदेखि महाकालीसम्मको समृद्धिको आधार बनाउनेछन्।”
उद्घाटन कार्यक्रमले न केवल भौतिक पूर्वाधारको उपलब्धिलाई उजागर गर्यो, तर देशको समग्र विकास यात्रालाई पनि नयाँ ऊर्जा प्रदान गरेको छ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया