डोटी । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १ः४० बजे सुप्र प्रदेश ०१००१ ज १३९५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

advertisement

दुर्घटनामा सायल गाउँपालिका–४ की ४१ वर्षीया देवी विक, आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय जिप चालक सुरेश कार्की, र सायल गाउँपालिका–६ कटुवालकी ३५ वर्षीया काली कटुवालको ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए।

देवी विक र सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने गर्भवती अवस्थामा रहेकी काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा साँझ ४ः१२ बजे मृत्यु भएको हो।

दुर्घटनामा परेर आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट तथा मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएका छन्।

प्रहरीका अनुसार चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम खालको छ। घाइतेहरूको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दिपायलबाट मौवातर्फ जाँदै गरेको जिप घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com