काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगका गहिरा अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूले नेपाललाई योग भूमिका रूपमा पुष्टि गर्दै आएको बताएका छन्।
२१ जुन, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योग, ध्यान र साधनाको अभ्यासले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, मानसिक तनावबाट मुक्ति दिलाउने र सकारात्मक ऊर्जा प्राप्त गराउने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ को डिसेम्बर ११ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै आएको छ। यस वर्ष “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा यो दिवस मनाइएको छ।
राष्ट्रपति पौडेलले योगलाई शारीरिक अभ्यासमात्र नभई वैज्ञानिक मान्यतामा आधारित जीवनशैलीका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “योग, ध्यान र साधनाले मानव जीवनमा सकारात्मक सोच, आन्तरिक ऊर्जा, आत्मप्रेरणा र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ। दैनिक कार्यक्षमता वृद्धिमा पनि योगले महत्वपूर्ण योगदान पुर्याउँछ।”
उनले योगले मानिसको मन, शरीर, चेतना, कर्म र ज्ञानलाई समेटेर स्थिरता र समत्वतर्फ डोर्याउने हुँदा यसले शारीरिक, मानसिक र आध्यात्मिक सबलतामा टेवा दिने बताए।
राष्ट्रपतिले नेपालको सांस्कृतिक सम्पदा तथा परम्परागत ज्ञान प्रणालीमा योग विज्ञानको प्रयोग पाइने उल्लेख गर्दै योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम र सार्वजनिक स्वास्थ्य प्रणालीको अभिन्न अंगको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।
“हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र सभ्यताको अभिन्न अंशका रूपमा रहेको योगले आजको विश्वमा एकता, शान्ति र स्वास्थ्यको सन्देश फैलाइरहेको छ,” राष्ट्रपति पौडेलले भने। उनले प्रतिस्पर्धा, प्रदूषण र तनावले ग्रस्त आजको जीवनशैलीलाई सहज, सरल र स्वस्थ बनाउने उपायका रूपमा योगलाई आत्मसात् गर्न सबैमा आह्वान समेत गरे।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया