ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि नियोजित रूपमा गालीगलौज भइरहे पनि आफूले कसैप्रति वैरभाव नराखेको बताएका छन्। ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही तत्वहरू उद्देश्यसहित गाली गर्ने अभियानमा लागेको स्पष्ट पारे।
“गाली गर्नेहरूलाई म चिन्छु, उनीहरूको मिसन छ,” प्रधानमन्त्री ओलीले भने, “तर म कसैप्रति वैरभाव राख्दिन। सधैं प्रसन्नचित्त रहने प्रयास गर्छु।”
गालीको कारण आफूले केही कुरा राम्रोसँग नबुझाउन सक्नु पनि हुनसक्ने उनले जनाए। तथापि, प्रधानमन्त्री ओलीले ती आलोचकहरू योगको सङ्गतमा आएमा उनीहरूमा सकारात्मक परिवर्तन आउन सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले योगको महत्वमाथि प्रकाश पार्दै भने, “योग भन्नाले मनलाई स्थिर बनाउने अभ्यास हो। मन स्थिर भएर राम्रो काममा केन्द्रित रहनु नै सच्चा योग हो।”
उनले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र आत्मिक शुद्धिका लागि योग अत्यावश्यक भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीका अनुसार योगको नियमित अभ्यासले व्यक्ति मात्र होइन, समाज र राष्ट्रसमेत सकारात्मक दिशातर्फ उन्मुख हुन्छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया