काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा सम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेकी छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको आवाज सदनमा नसुनिएको गुनासो गर्दै गम्भीर सवाल उठाइन्।
“जनताले सडकमा उत्रिएर आवाज उठाउँदा पनि सरकारले सुन्दैन भने, उनीहरूले आफ्ना कुरा कहाँ राख्ने?” भन्दै सांसद श्रेष्ठले प्रश्न गरिन्। उनले सरकारसँग सोधिन्, “संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठन गर्न किन ढिलाइ गरिँदैछ?”
श्रेष्ठले भिजिट भिसाको प्रयोगमार्फत नेपालीहरू रसिया र खाडी मुलुकहरूमा जाँदै आएको उल्लेख गर्दै यो विषय गम्भीर अध्ययन र छानबिनको माग गर्ने खालको भएको बताइन्।
उनको भनाइमा, यो विषय केवल व्यक्तिगत वा पार्टीगत होइन, सम्पूर्ण नेपाली नागरिकको सुरक्षासँग जोडिएको भएकाले सरकार गम्भीर बन्नुपर्ने आवश्यकता छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया