काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी मूलधारे राजनीतिको निर्णायक शक्ति नबनेसम्म रास्वपाले सुरू गरेको आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।

पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले पार्टीको संघर्ष निरन्तर चल्ने बताए।

advertisement

“हामीले अनन्तकालीन आन्दोलनको शंखनाद गरिसकेका छौं,” उनले भने, “यो आन्दोलनका स्वरूपहरू फरक–फरक हुन सक्छन्। कहिले निलो रिबन बाँधेर शान्तिपूर्ण रुपमा उभिन सक्छौं, कहिले पलेँटी कसेर बस्न सक्छौं, कहिले सडकमा उत्रिएर लल्कार्न सक्छौं। तर २०८४ को निर्वाचनसम्म रास्वपा मूलधारे राजनीतिमा निर्णायक शक्ति नबनेसम्म हाम्रो अभियान रोकिँदैन।”

उपसभापति वाग्लेले सभापति रवि लामिछानेले न्याय प्राप्त गर्न रास्वपा राजनीतिक रूपले सशक्त बन्नु आवश्यक रहेको उल्लेख गरे।

“कानुनी लडाइँ आफ्नै ठाउँमा छ,” उनले भने, “तर जब राजनीतिक प्रतिशोध प्रष्ट देखिन्छ, तब राजनीतिक लडाइँ पनि लड्नुको विकल्प हुँदैन। त्यसका लागि रास्वपाको सुदृढ राजनीतिक उपस्थिति अपरिहार्य छ।”

उनले संसदमा रास्वपाले देखाएको अडानलाई पनि विशेष रूपमा उल्लेख गरे।

“हामी नयाँ हौं, तर बेबकुफ होइनौं। हामी काइँते सम्झौतामा होइन, आफ्ना सिद्धान्त र अडानमा चट्टानझैं अडिरहेका छौं,” उनले भने।

वाग्लेले रास्वपाका सांसदहरूको उपस्थितिले संसदमा सन्तुलन कायम भएको तर्क गर्दै भने, “हाम्रो संख्या थोरै हुन सक्छ, तर हामी नहुने हो भने संसद पंगु बन्छ। १९ जना सांसद संसदबाट झिकेर हेर्नुस्, त्यो संस्था निष्प्रभावी हुन्छ।”

उनका अनुसार रास्वपा अब गाउँ–शहर, जिल्ला–पालिका हुँदै देशव्यापी रूपमा विस्तार हुँदै अघि बढ्ने तयारीमा रहेको छ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com