काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले मन्त्रीहरूको संसदप्रति गैरजिम्मेवार व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकैपटक १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्नुपर्ने अवस्था आउनु नै मन्त्रीहरूको बेपर्वाही प्रमाण भएको बताए।
भट्टराईले प्रश्न गरे, “संसद चलिरहेकै बेला विनियोजन शिर्षकमाथि छलफल भइरहँदा त्यसभन्दा महत्वपूर्ण काम अरु के हुन सक्छ ? के त्यस्तो अत्यावश्यक काम परेको हो र मन्त्रीहरू संसदमा अनुपस्थित भए ?”
उनले स्पष्ट रूपमा उल्लेख गरे कि संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाएको छ भने मन्त्रीहरू प्रधानमन्त्रीसँगै संसदप्रति पनि जवाफदेही हुनुपर्छ।
भट्टराईले थपे, “हिजो केही मन्त्रीहरू अनुपस्थित भए, अस्ति पनि केही आएनन्। आज अन्ततः १० वटा मन्त्रालयको प्रस्ताव एकैचोटि छलफलमा राख्नुपरेको छ। यस्तो अवस्थामा कसरी गहन र निर्माणात्मक छलफल सम्भव हुन्छ ?”
उनले मन्त्रीहरूलाई सुझाव दिँदै भने, “तपाईंहरू तीतो नमान्नुस्, तर संसद् बैठकको समयमा अनुपस्थित भई अन्यत्र जानु कत्तिको उचित हो ? तपाईंहरूले संसदलाई प्राथमिकतामा राख्नैपर्छ। संसदप्रति गम्भीर हुनुपर्छ।”
उनले मन्त्रीहरूलाई आफूले पेस गर्ने विधेयक र संसदका प्रक्रियामा पूर्ण रूपमा सहभागी भएर जवाफदेही भूमिका निर्वाह गर्न आग्रह गरे।
भट्टराईको भनाइमा संसदप्रति बेवास्ता गर्ने प्रवृत्ति त्याग्नुपर्ने र विधायिकी कामलाई प्राथमिकतामा राख्न मन्त्रीहरू गम्भीर बन्नुपर्ने स्पष्ट सन्देश झल्किन्छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार












प्रतिक्रिया