काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले ब्रिटिस गोरखा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरताको माग गर्नु स्वाभाविक भए पनि विदेशी नागरिकता लिइसकेपछि नेपाली नागरिकता पुनः दिन कानुनी रूपमा सम्भव नरहेको बताए।

advertisement

सभापति देउवाले भने, “नेपाल छोड्नुपरेका विभिन्न कारणले गोरखा सैनिकहरू बेलायतको नागरिकता लिन बाध्य भए, तर त्यसपछि पुनः नेपाली नागरिकता दिनु भनेको हाम्रो सानो देशका लागि संवैधानिक र व्यावहारिक रूपमा चुनौतीपूर्ण विषय हो।”

उनले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता जस्तो विशेष व्यवस्था भने दिन सकिने धारणा राखे। “एनआरएन सरहको नागरिकता दिएर उनीहरूलाई अन्य कार्यमा सहभागी गराउन सकिन्छ, तर पूर्ण नागरिकता दिन सकिँदैन”, देउवाले स्पष्ट पारे।

देउवाले ब्रिटिस गोरखा सैनिकहरूलाई बेलायती सैनिकसरह सेवा सुविधा दिनुपर्ने मागमा आफू स्पष्ट रहेको बताए। “गोरखा सैनिकहरूले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका छन्। उनीहरूको योगदान उल्लेखनीय छ,” उनले भने।

उनका अनुसार गोरखा सैनिकहरूबारे राजनीतिक तहमा छलफल चलिरहेको छ र चाँडै कुनै निष्कर्षमा पुग्ने आशा गरिएको छ। तर विदेशी नागरिकता लिइसकेपछि नेपाली नागरिकता दिन नपाइने कुरा नेपालको कानूनले निर्धारण गरेको उनले उल्लेख गरे।

“हाम्रो जस्तो सानो देशका लागि दोहोरो नागरिकताको विषय संवेदनशील छ। जो नेपाली हुन चाहन्छ, फर्कन चाहन्छ, तिनलाई स्वागत गरिन्छ तर कानुनी सीमाभित्र रहेर मात्र सम्भव हुन्छ,” देउवाले दोहोर्‍याए।

कार्यक्रममा उनले गोरखा सैनिकहरूको गौरवपूर्ण इतिहासको पनि चर्चा गरे र नेपाल–बेलायत सम्बन्ध प्रगाढ बनाउनेमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com