काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशम्शेर राणाले तीनकुनेमा भएको घटनालाई राज्यकै योजनाबद्ध आतंकको संज्ञा दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राणाले चैत १५ गतेको तीनकुने घटना राज्यको उत्तेजनात्मक गतिविधिका कारण भएको दाबी गरे। उनले उक्त घटना दुर्गा प्रसाईं वा संयुक्त जनआन्दोलन समितिका कारण नभई राज्यकै आक्रामक व्यवहारका कारण भएको बताए।

advertisement

“घटना दुर्घटनावश भएको होइन, राज्यको आतंकले नै त्यो अवस्था सिर्जना भएको हो। दुर्गा प्रसाईंले त जनताको सेवा गरिरहेका छन्, तर वास्तविक रूपमा राज्यले नै जनता भड्काएर अवस्था जटिल बनायो,” राणाले भने, “हामीले त्यसको छानबिनको माग गरिरहेका छौं, तर सरकार छानबिन गर्न किन डराइरहेको छ, मलाई बुझ्न गाह्रो भइरहेको छ।”

सांसद राणाले तीनकुने घटनाको दिन प्रहरीले घरको छतबाट अश्रुग्यास प्रहार गरेको, राष्ट्रगान बजिरहेको बेला नै मञ्चमा अश्रुग्यास हानेको जस्तो दुर्लभ र दुःखद घटना अनुभव गरेको बताए।

उनले प्रश्न गर्दै भने, “हामीले थुप्रै आन्दोलनमा भाग लिएका छौं। तर मञ्चमा राष्ट्रगान बजिरहँदा अश्रुग्यास प्रहार भएको उदाहरण कहिल्यै देखेका छौं? यो पहिलो पटक हो, जुन राज्यकै हिंसात्मक हस्तक्षेपले सम्भव भयो।”

चैत १५ गतेको तीनकुने घटनामा हिंसा भड्किएको थियो, जसमा एक व्यक्तिको मृत्यु समेत भएको थियो। सोही घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका सांसद राणालाई काठमाडौं जिल्ला अदालतले गत साता ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा रिहा भएसँगै उनी पुनः संसद्मा सहभागी भएका हुन्।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com