काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि जारी छलफलका क्रममा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र सभामुख देवराज घिमिरेबीच तीव्र वाक्युद्ध भएको छ। सिंहले आफ्ना भनाइप्रति नेकपा (एमाले)का सांसदहरूले आपत्ति जनाएपछि तीव्र प्रतिक्रिया दिँदै सभामुखमाथि पनि आरोप लगाएका हुन्।
सांसद सिंहले सरकारले बजेट विनियोजनका क्रममा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको पहुँचका आधारमा पाँच जिल्लामा मात्र बजेट छुट्याएको र बाँकी ७२ जिल्लालाई अमेरिका, चीन वा भारतलाई लिजमा दिन खोजिएको टिप्पणी गरेपछि विवाद सुरु भएको थियो। एमाले प्रमुख सचेतक महेश बर्तौलाले सिंहको अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रघाती भन्दै खारेज गर्न माग गरेपछि सत्तापक्षका अन्य सांसदहरू पनि विरोधमा उत्रिएका थिए।
विवाद बढेपछि सभामुख घिमिरेले सिंहको भनाइ संसदको रेकर्डबाट हटाउने निर्देशन दिए। त्यसपछि सांसद सिंह थप आक्रोशित बनेर सभामुखमाथि दलपाती भएको आरोप लगाउँदै भने, “सभामुख संसदको हो, एमालेको होइन। तपाईं त एमालेको कार्यकर्ता जस्तो हुनुहुन्छ। जनताले हामीलाई पठाएका हुन्, तपाईंको दयामायाले होइन।”
सिंहले बजेट समानरूपमा वितरण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै आफू मन्त्री नभएको तर मन्त्री बनेका व्यक्तिहरूले विगत २० वर्षमा चरम भ्रष्टाचार गरेर देशलाई कंगाल बनाएको आरोपसमेत लगाए। उनले एमाले सांसदहरूलाई ‘गद्दार’को संज्ञा दिँदै गम्भीर टिप्पणी गरेका थिए।
सभामुखले सिंहलाई निर्धारित विषयमा मर्यादित र नियमअनुसार बोल्न रुलिङ दिए पनि उनले असहमति जनाउँदै स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने, रास्वपाजस्ता साना दललाई हेप्ने र सत्तापक्षका सांसदलाई छुट दिने व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे। “हामी असमानताविरुद्ध लड्न जनताले पठाएका हौं,” उनले भने।
विवाद चुलिँदै गएपछि सभामुख घिमिरेले रोष्ट्रम खाली गर्न निर्देशन दिए। तर सांसद सिंहले आफूलाई दिइएको समय (७ मिनेट) नपुगेसम्म नहट्ने अडान राख्दै अन्तसम्म धारणा राखिरहे।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया