काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशमा संगठित रूपमा लुटतन्त्र स्थापित भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले पछिल्लो समय सदनलाई राजनीतिक नाटक मञ्चनको थलो बनाइएको गम्भीर टिप्पणी गरे।

advertisement

“एक महिनादेखि यो सदन राजनीतिक नाटकको रंगमञ्च बनेको छ। हामी सांसदलाई दर्शक बनाइएको छ,” उनले भने, “तर संसदीय लोकतन्त्र बहुमतको अंकगणितले मात्र होइन, विवेक र नैतिकताले पनि सञ्चालन हुनुपर्छ।”

सांसद साहले रोजगारीको खोजीमा विदेशी मरुभूमिमा पसिना बगाइरहेका युवाहरूको अवस्था औंल्याउँदै त्यसलाई राज्यको असफलताको प्रतिफल बताए। “युवाहरूको विदेश पलायन उनीहरूको रहर होइन, राज्य व्यवस्थाको असफलताले जन्माएको विवशता हो,” उनले भने। साहले देशमा लुटतन्त्रको सिन्डिकेट संस्थागत ढंगले चलिरहेको आरोप लगाउँदै यसको ‘प्रोडक्ट क्याटलग’ निकै रोचक भएको व्यंग्य गरे।

“कहिले भुटानी शरणार्थीको नाममा आफ्नै नागरिक बेचिन्छ, कहिले ललिता निवास जोगाउनुपर्नेहरूले सरकारी जग्गा हडप्छन्,” उनले भने, “कहिले क्विन्टलका क्विन्टल सुन बिस्कुटको आवरणमा भित्र्याइन्छ, कहिले वाइडबडी जहाज किन्ने नाममा राज्यको ढुकुटी लुटिन्छ। कहिले त भ्रष्टाचारको ओलम्पिकमा भाग लिएजस्तो गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कीर्तिमान कायम गरिन्छ।”

उनले थपे, “अब त लाग्न थालेको छ— यो देश चाँडै भ्रष्टाचारको ‘म्युजियम’ बन्ने बाटोतिर अग्रसर छ।” सांसद साहले भिजिट भिसा प्रकरणलाई ‘सामान्य ठगी होइन, संगठित मानव तस्करी’ को संज्ञा दिए।

“लाखौं रुपैयाँ असुली, रोजगारी दिने झुटा सपना देखाइ, नेपाली युवालाई विदेशी भूमिमा अलपत्र पार्ने यो अपराध सजिलो शब्दमा भन्न सकिने खालको होइन,” उनले भने, “यो त हजारौं युवाको सपना, उनीहरूका परिवारको भविष्य र सम्पत्तिमाथिको सुनियोजित डकैती हो।”

उनले यस्तो गम्भीर मुद्दामा सरकार मूकदर्शक बनेको भन्दै आलोचना गरे। “आज यस्तो गम्भीर अपराधमा सरकार निष्क्रिय छ। यस्तो अवस्थामा लाग्छ— देशमा सरकार होइन, सर्कस चलिरहेको छ।”

साहले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा काण्डमा गम्भीर प्रश्न उठ्दै आएको भन्दै तत्काल निष्पक्ष छानबिन हुनुपर्ने माग राखे। “राज्य मूकदर्शक भएर बस्न मिल्दैन। यो अपराधको जरोसम्म पुग्न, सफ्टवेयरमार्फत घुसको हिस्सा लिने हरेक पात्रलाई कारबाही गर्न, उच्चस्तरीय र निष्पक्ष संसदीय छानबिन समिति गठन गरिनुपर्छ,” उनले जोड दिए।

त्यसै क्रममा उनले गृहमन्त्रीले अतीतमा दिएका नैतिकताका उपदेशहरू स्मरण गराउँदै भने, “कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने उपदेश तपाईंले आफैँ सदनमा दिएका थियौं। आज प्रश्न तपाईंमाथि उठेको छ— अब उपदेश होइन, आचरण देखाउने समय हो।”

उनले अन्त्यमा चेतावनी दिँदै भने, “नत्र इतिहासले तपाईंलाई ‘काफिला लुटिँदा मौन बस्ने कायर रहबर’ का रूपमा मात्र सम्झिनेछ।”

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com