काठमाडौं । इरानले आफ्ना आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई ‘खतरनाक युद्धको सुरुवात’ भन्दै कडा आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा यो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको स्पष्ट गरिएको छ ।
“कूटनीतिक प्रयासहरू जारी रहँदा अमेरिकाले त्यसैको खिलापमा हिंसात्मक कदम चाल्नु गम्भीर विश्वासघात हो,” वक्तव्यमा भनिएको छ । साथै इजरायललाई ‘नरसंहारकारी’ र ‘कानुनविहीन’ राष्ट्रको संज्ञा दिँदै इरानले आक्रमणमा उसको भूमिका भएको आशंका पनि व्यक्त गरेको छ ।
इरानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ, “यस जघन्य आक्रमणको सम्पूर्ण जिम्मेवारी अमेरिकी सरकारलाई लिनु पर्नेछ । यसको परिणाम गम्भीर र भयानक हुने निश्चित छ ।” मन्त्रालयले थप स्पष्ट पारेको छ कि अमेरिकी आक्रमण र त्यसमा संलग्न ‘दुष्ट शासन’ विरुद्ध दृढ प्रतिकार गर्नु इरानको वैधानिक अधिकार हो ।
इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) लाई तत्काल अमेरिकी कार्यको समीक्षा गर्न र आवश्यक कदम चाल्न आग्रह गरेको छ । साथै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आकस्मिक बैठक बोलाएर आक्रमणको निन्दा गर्न आह्वान गरिएको छ ।
इराकको चिन्ता: युद्धले सम्पूर्ण क्षेत्रलाई प्रभाव पार्ने खतरा
उता, इराकले पनि इरानमाथिको अमेरिकी आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । इराकी सरकारका प्रवक्ता बासिम अल–आवादीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो आक्रमणले मध्यपूर्वको शान्ति र स्थायित्वलाई गम्भीर खतरा पुर्याएको छ ।”
उनले चेतावनी दिएका छन्, “निरन्तर युद्धप्रवृत्तिले समग्र क्षेत्रलाई अराजकतातर्फ धकेल्न सक्छ, जसको प्रभाव केवल एक देशसम्म सीमित नहुनेछ । यो सम्पूर्ण विश्वको सुरक्षाका लागि पनि चुनौती बन्न सक्छ ।”
इराकले सबै पक्षलाई संयम अपनाउन र तनाव तुरुन्त कम गर्न आह्वान गरेको छ । साथै, अन्तर्राष्ट्रिय समुदायलाई यस्तो युद्धात्मक कदमको विरोध गर्न र दीर्घकालीन समाधानको मार्गमा लाग्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया