रामेछाप । मन्थली नगरपालिका–६ को कुनाउरीस्थित तामाकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुलको स्पान आज दिउँसो भाँचिएको छ। मन्थलीको भलुवाखोला हुँदै वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने उक्त पुल निर्माणको क्रममा पुनः स्पान भाँचिएपछि स्थानीयवासीमा गहिरो चिन्ता उत्पन्न भएको छ।
केही महिनाअघि पनि सोही पुलको बीच भागको एउटा स्पान भाँचिएको थियो। प्राविधिक अध्ययनपछि मर्मत गरी पुनः प्रयोग गर्न सकिने निष्कर्ष निकालिएपछि निर्माण कम्पनीले मर्मत कार्य थालेको थियो। तर, मर्मतकै क्रममा आज दिउँसो सो स्पान पूर्ण रूपमा पिल्लरबाट भाँचिएर भुइँमा खसेको हो। स्थानीय लेखनाथ ढुङ्गेलका अनुसार गुणस्तरहीन निर्माण सामग्री प्रयोग वा अन्य प्राविधिक कमजोरीले यस्तो घटना दोहोरिएको हुन सक्ने आशंका छ। उनले यथासमयमा अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले स्पान पूर्णरूपमा भत्किएर भुइँमा खसेको पुष्टि गरे। घटनापछि पुल क्षेत्र वरिपरि स्थानीयको ठूलो भिड लागेको थियो।
उक्त पुल निर्माण कार्य आगामी भदौ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढाइएको थियो। तर, यो दोहोरिएको दुर्घटनाले पुल निर्माण ढिलो हुने मात्र नभई स्थानीय बासिन्दाको सपना पनि अलपत्र परेको छ।
सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा कुल २२ करोड ५५ लाख चार हजार रुपैयाँमा निर्माण ठेक्का सम्झौता गरेको थियो। चारवटा स्पान रहने गरी २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुलको झन्डै ६० प्रतिशतभन्दा बढी रकम ठेकेदार कम्पनीले पहिले नै भुक्तानी लिइसकेको छ।
पुल सम्पन्न भएपछि मन्थली–खुर्कोट सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा पकरबास, गोगनपानी हुँदै सिन्धुलीको मुल्कोट जोड्ने र राजधानी काठमाडौँ पुग्न छोटो दूरीको मार्ग खुल्ने योजना थियो। यो पुल रामेछाप सदरमुकाम मन्थलीसँगै जिल्लाका तीनवटा पालिकालाई सिधा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइँदै आएको थियो।
पटक–पटकको ढिलाइ र प्राविधिक समस्याका कारण निर्माण कार्यको गुणस्तर र पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयले पुल निर्माणको कार्यमा गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया