काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चालु आर्थिक वर्षको बजेट असमान र असमावेशी ढंगले विनियोजन गरिएको भन्दै कडा आलोचना गरेका छन्।
आइतबार संसद्मा मन्त्रालयगत छलफलमा भाग लिँदै खतिवडाले केही मन्त्रीहरूले बजेटलाई व्यक्तिगत रुचि, पहुँच र सम्बन्धअनुसार विभाजित गरेको आरोप लगाए। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले व्यंग्य गर्दै भने, “कसैले बजेट ससुरालीतिर हालेजस्तो, कसैले जेठी सासुको घरतिर, अनि कसैले सालीको घरतिर पनि बजेट डाइभर्ट गरेको जस्तो देखिन्छ।”
उनले बजेट वितरणमा देखिएको यस्तो प्रवृत्तिलाई गलत परम्परा भन्दै सबै क्षेत्र र समुदायलाई समेट्ने प्रणाली निर्माण गर्नुपर्ने बताए। “बजेट देशका सबै नागरिकसम्म पुग्नुपर्छ, मन्त्रीका लागि मात्र होइन,” उनले भने, “दुर्गम गाउँमा अझै पनि २ घण्टा गाग्री बोकेर पानी लिनुपर्ने अवस्था छ, कतिपय ठाउँमा अस्पताल जान बाटोसमेत छैन। यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति अब बन्नुपर्छ।”
सांसद खतिवडाले सहरी विकास मन्त्रालयको नाम समेत परिवर्तन गर्न सुझाव दिए। उनले ‘सहरी’ अगाडि ‘ग्रामीण’ थपेर ‘ग्रामीण तथा सहरी विकास मन्त्रालय’ बनाउनु उपयुक्त हुने धारणा राखे। “सहर मात्र हैन, गाउँको विकास पनि हुनुपर्छ। यस्तो समावेशी नामले मन्त्रालयको कार्यक्षेत्रलाई पनि सन्तुलनमा ल्याउँछ,” उनले जोड दिए ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया