काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतम र हरि ढकालले भारतका पूर्व उपराष्ट्रपति तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता एम वेंकैया नायडूसँग भेट गरेका छन्।
रास्वपा सांसदद्वय गौतम र ढकालले आइतबार भारतको कर्नाटक राज्यमा आयोजित प्रवासी नेपाली सम्पर्क मञ्चको राज्य समिति घोषणा कार्यक्रममा सहभागी हुँदै पूर्व उपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध, भारतमा रहेका प्रवासी नेपालीहरूको वर्तमान अवस्था र उनीहरूले भोगिरहेका समस्याहरूका साथै दुई देशबीच दीर्घकालीन, संरचित र संस्थागत समन्वय आवश्यकताका विषयमा गहन छलफल भएको सांसद गौतमले जानकारी दिइन्।
उनका अनुसार उक्त अवसरमा रास्वपाको मूल विचार, राजनीतिक लक्ष्य र अभियानहरूबारे समेत संक्षिप्तरूपमा जानकारी गराइएको थियो। “यस भेटवार्ताले दुई देशबीचको क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु,” गौतमले भनिन्।
एम वेंकैया नायडू भारतीय राजनीतिमा दीर्घ अनुभव भएका नेता हुन्। उनी सन् २००२ देखि २००४ सम्म भाजपा अध्यक्षसमेत रहेका थिए।
उक्त भेटवार्ता नेपाल–भारत सम्बन्धलाई जनस्तरमै प्रगाढ बनाउने सन्देशवाहक बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया