काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएका अनियमितता र अवाञ्छनीय गतिविधिका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।
गृह मन्त्रालयमा सोमबार आयोजित आन्तरिक बैठकमा मन्त्री लेखकले अध्यागमन प्रणालीमा सुधार ल्याउन तत्काल ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका हुन्।
अध्यागमनमा खटाइने कर्मचारीको छनोटमा स्पष्ट मापदण्ड अपनाउनुपर्नेमा जोड दिँदै उनले गलत तरिकाबाट मानिस विदेश पठाउने कार्यमा संलग्न जो-कोहीलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।
“यदि कसैलाई अवैधानिक रूपमा विदेश पठाइएको थाहा भयो भने त्यस समयमा जिम्मेवार रहेका कर्मचारी कारबाहीको भागेदार हुनेछन्,” मन्त्री लेखकको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
मन्त्री लेखकले अध्यागमन कार्यालयमा ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्न पनि निर्देशन दिए। उनले विगतमा बनेका छानबिन तथा सुझावमूलक प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न, कर्मचारीको आचरणमा सुधार ल्याउन र अध्यागमन सम्बन्धी सबै तथ्याङ्क सुरक्षित राख्न डिजिटल प्रणालीको स्तरोन्नति गर्न निर्देशन दिए।
बैठकमा अध्यागमन सुधारका लागि पछिल्लो एक महिनायता भएको प्रगतिबारे जानकारी लिँदै मन्त्री लेखकले अध्यागमनको संस्थागत सुधार र विश्वसनीय छविमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी सहित मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया