काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन नभए सरकारद्वारा गठित उच्चस्तरीय समितिको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीको तर्फबाट बोल्दै उपमहासचिव एवं सांसद वर्षमान पुन ‘अनन्त’ले छानबिन प्रक्रिया जनभावनाअनुसार नचले माओवादी केन्द्र त्यसको विपक्षमा उभिने स्पष्ट पारे।

advertisement

“सत्यतथ्य आधारमा छानबिन भई दोषीमाथि कानुनी कारबाही नहुँदासम्म हाम्रो निगरानी र खबरदारी जारी रहनेछ,” पुनले चेतावनी दिँदै भने, “छानबिन समिति जनभावनाअनुरूप चल्नुपर्छ, अन्यथा हामी त्यसको प्रतिवेदन मान्दैनौं।”

सरकार र प्रमुख प्रतिपक्षीबीच जेठ ३० गते भएको दुई बुँदे सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो। समितिको निर्णयबारे गृहमन्त्री रमेश लेखकले संसदमा जानकारी गराएपछि पुनले माओवादी केन्द्रको धारणा प्रस्तुत गरेका थिए।

उनले समितिले दक्ष, निष्पक्ष र पारदर्शी ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए।

भिजिट भिसा र अध्यागमन प्रणालीमा विगतदेखि देखिंदै आएका समस्या, कमजोरी, र ‘ग्रे एरिया’ का कारण विभिन्न आपराधिक गतिविधिहरू हुनसक्ने भन्दै उनले ती विषयको गहिरो अध्ययन र छानबिन आवश्यक रहेको उल्लेख गरे।

“जनताको शंका र अविश्वास हटाउने गरी प्रतिवेदन आउनुपर्छ। यदि छानबिन कमजोर भयो भने जनस्तरबाट निगरानी र खबरदारी अवश्य हुनेछ, हामी प्रतिपक्षको हैसियतले पनि त्यसमा सशक्त भूमिका खेल्नेछौं,” उनले भने।

पुनका अनुसार, भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ, र त्यो निष्पक्ष, पारदर्शी, प्रमाणमूलक र तथ्यपरक हुनुपर्ने माओवादी केन्द्रको अपेक्षा रहेको छ।

उनले भिजिट भिसा प्रकरणमा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स तथा नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका व्यक्तिहरू समेत संलग्न भएको भन्ने समाचार सार्वजनिक भइसकेको भन्दै ती सबै पक्षलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरे।

यसअघि माओवादी केन्द्रसहित विपक्षी दलहरूले निरन्तर १८ दिनसम्म संसद बैठक बहिष्कार गर्दै भिजिट भिसा प्रकरणको गम्भीर छानबिनको माग गरेका थिए।

पुनले अन्त्यमा भने, “छानबिनको अपेक्षा जनताको हो। त्यो भरोसा सरकार र समितिले तोड्न नपाओस् भन्ने हाम्रो आग्रह हो।”

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com