काठमाडौं । उपत्यकाको २७ किलोमिटरको चक्रपथमा सार्वजनिक यातायातलक्षित शौचालय नहुँदा चालक, सहचालक र यात्रु समस्यामा पर्ने गरेका छन्। एकपटक चक्रपथ परिक्रमा गर्न साढे दुईदेखि तीन घण्टा लाग्छ।
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, सवारी चलाउँदै गर्दा दिसापिसाब लाग्यो भने आपत् पर्ने गरेको व्यवसायी बताउँछन्। सडकछेउमा शौचालय छैनन्। भएका पनि गाडीको ‘साइड’ नमिल्दा प्रयोग गर्न सक्ने अवस्था छैन । जहाँ पायो त्यही गाडी रोक्न मिल्दैन। त्यसमाथि जाममा परियो भने दिसापिसाब रोकेर बस्नुको विकल्प छैन।
महानगर यातायातका चालक विनोद धमलाले दिसापिसाब लाग्दा साह्रै समस्यामा पर्ने गरेको बताए। धादिङ नीलकण्ठ–११ का धमलाले भने, ‘कहिलेकाहीँ चिनेको पेट्रोल पम्पमा गइन्छ। त्यहाँ पनि तेल नहाले गाली गर्छन्। सबै पम्पमा तेल हाल्ने कुरा पनि भएन । साइड मिल्यो भने चाबहिलमा छ नत्र बालकुमारी पुलमुनि जान्छौँ ।’ पहिलो कुरा सार्वजनिक शौचालय नै उपलब्ध छैन, भएका पनि प्रयोग गर्न कठिन छ।
महानगर जस्तै चक्रपथ परिक्रमा गर्ने गाडी हजारौँ छन्। सबै गाडीका चालक र सहचालक शौचालय नभएकाले समस्या भोगिरहेका छन् । चक्रपथमा मात्रै होइन, काठमाडौँका भित्री सडकमा पनि चालक, सहचालकलाई समस्या पर्छ। कोटेश्वर बालकुमारीबाट छुट्ने नेपाल यातायात नयाँ बानेश्वर, अनामनगर, पुतलीसडक, बालुवाटार, चक्रपथ हुँदै गोपीकृष्ण पुग्छ तर अन्तिम स्टेसनमै उनीहरूको दिसापिसाब हुने गरेको छ, त्यो पनि पुलमुनि।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया