काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले सो कुराको घोषणा गरेका हुन्।
उनले लागुऔषधको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएकाले नियन्त्रणका लागि संरचनागत व्यवस्था गर्न आवश्यक भएको बताए। मन्त्री लेखकका अनुसार गृह मन्त्रालयले हाल विभिन्न योजनामार्फत लागुऔषध नियन्त्रणमा काम गरिरहेको छ।
“देशभरका जेलमा रहेका कैदीबन्दीमध्ये लागुऔषध दुरुपयोग, भण्डारण तथा ओसारपसारमा संलग्नहरू दोस्रो ठूलो संख्यामा छन्,” उनले भने, “यो हाम्रो समाजलाई गम्भीररूपमा प्रभावित बनाइरहेको छ।”
गृहमन्त्री लेखकले मन्त्रालयमा आफ्नो प्रवेशपछि लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिइएको उल्लेख गर्दै भने, “लागुऔषध आफैँमा एउटा ठूलो समस्या हो, तर यसले समाजमा अन्य अपराध र विकृति पनि निम्त्याइरहेको छ।”
सरकारले अब यसप्रति कडा नीति अपनाउँदै प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत गृहमन्त्रीले व्यक्त गरे।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया