काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सबै सरोकारवालाको ऐक्यबद्धता भए मात्र लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने बताएका छन्। बिहीबार अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
आईजीपी थापाले काठमाडौँ उपत्यकामा पछिल्लो समय लागुऔषधको समस्या तीव्र रूपमा बढ्दै गएको बताए। उक्त समस्या समाधानका लागि नेपाल प्रहरीले उपत्यका प्रहरी कार्यालयमार्फत विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार, अभियान अन्तर्गत प्रत्येक पालिका, समुदाय र विद्यालय तहसम्म पुगेर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
“काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढ्दो छ। त्यसलाई नियन्त्रण गर्न हामीले व्यापक रूपमा जनचेतना फैलाउने कार्य गरिरहेका छौँ,” उनले भने, “सबै तह, तप्काको ऐक्यबद्धता भयो भने लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिन्छ।”
थापाले लागुऔषधको माग (डिमान्ड) र आपूर्ति (सप्लाई) दुवैलाई नियन्त्रण गर्न रणनीतिक योजना बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय मात्रामा लागुऔषध बरामद गरेको जानकारीसमेत दिए।
उनका अनुसार, यस अवधिमा: गाँजा ६५ प्रतिशतले,अफिम ७७ प्रतिशतले,हिरोइन ७९ प्रतिशतले,र अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बढी मात्रामा बरामद गरिएको छ।
आईजीपी थापाले लागुऔषध नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिन सबै पक्षलाई आग्रह गरे। यदि समयमै रोकथामका प्रयासहरू प्रभावकारी ढंगले नगरे युवाशक्ति गुमाउने जोखिम बढ्ने चेतावनीसमेत दिए।
“लागुऔषधले हाम्रो उत्पादनशील र सृजनशील युवाशक्ति खोस्न सक्छ,” उनले भने, “अहिले नै सचेत भई एकजुट भइ कदम चाल्न सके मात्र यस समस्याबाट समाजलाई जोगाउन सकिन्छ।”
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया