काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको ऐतिहासिक गर्भा दरबारको संरक्षणप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नु भएको छ । साथै, देशको बहुभाषिक र बहुसांस्कृतिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताएका छन् ।
राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले कैलाली जिल्लाको चुरे गाउँपालिका–४ मा रहेको गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार दरबार संरक्षणप्रति स्थानीय स्तरमा पनि चासो बढेको छ । २०७८ असोज ७ गते चुरे गाउँपालिकाले दरबार संरक्षणका लागि पुरातत्व विभागमा औपचारिक निवेदन दिएको थियो । त्यसपछि विभागले स्थलगत निरीक्षणसहित विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढाएको र चालू आर्थिक वर्ष २०८२/८३ मा उक्त कार्यका लागि ४ लाख रुपैयाँ प्रस्ताव गरिएको जानकारी मन्त्रीले दिनुभयो । अब संरचनाको संरक्षण कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।
यसै अवसरमा राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल बहुभाषिक राष्ट्र भएको र सरकार भाषिक विविधताको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए । “संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्,” उनले भने, “र धारा २८७ अनुसार गठित भाषा आयोगले ती भाषाहरूको संरक्षण, अध्ययन, अनुसन्धान र विकासमा काम गर्दै आएको छ ।”
जनगणना २०७८ का अनुसार हालसम्म १२४ वटा भाषा पहिचान भइसकेका छन्, जसमध्ये ९३ वटा (करीब ७५ प्रतिशत) भाषा आदिवासी समुदायसँग सम्बन्धित छन् । यी भाषाको अभिलेखीकरण, संरक्षण तथा प्रयोग प्रवर्द्धनमा सरकार निरन्तर क्रियाशील रहेको मन्त्रीको भनाइ थियो ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकारको संरक्षण सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको पनि बताए ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया