काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाको सीप, प्रविधि र अनुभवलाई नेपालले पनि अनुकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
बिहीबार ललितपुरमा आयोजित ‘हामी एप’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले छोटो अवधिमा कोरियाले गरेको विकास प्रशंसनीय भएको उल्लेख गर्दै उक्त प्रगतिमा नेपाली श्रमिकको समेत महत्वपूर्ण भूमिका रहेको बताए ।
“कोरियासहित विभिन्न मुलुकमा काम गर्दै आएका नेपाली श्रमिकहरूले ती मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुर्याएका छन्,” मन्त्री भण्डारीले भने, “अब ती देशहरूले पनि नेपाली श्रमिकको योगदानलाई सम्मानपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।”
उनले वैदेशिक रोजगारी सकेर स्वदेश फर्किएका श्रमिकहरूले विदेशमा सिकेको सीप, संचित पुँजी र प्राप्त अनुभवलाई नेपालको समृद्धिका लागि उपयोग गर्नुपर्नेमा जोड दिए । साथै, नेपाली कामदारलाई अन्य देशका नागरिकसरह व्यवहार गर्नुपर्ने भन्दै उनीहरूलाई सेवा–सुविधामा भेदभाव नगर्न सम्बद्ध राष्ट्रहरूप्रति आग्रह गरे ।
मन्त्री भण्डारीले विदेशमा काम गर्ने नेपालीप्रति सकारात्मक दृष्टिकोण राखिनुपर्ने धारणा राख्दै उनीहरू राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया