काठमाडौं । इरानको संसद् (मज्लेस)ले संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा हेर्ने आधिकारिक निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)सँगको सहकार्य खारेज गर्ने प्रस्ताव पारित गरेको छ । इरानी सांसदहरूले बुधबार संयुक्त राष्ट्रसंघको आईएईएसँग सहकार्य स्थगन गर्ने पक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलसँग १२ दिनसम्म चलेको युद्धपछि इरानको संसद्ले आईएईएसँगको सहकार्य खारेज गर्ने निर्णय लिएको हो । “अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) जसले इरानका आणविक सुविधाहरूमाथिको आक्रमणको सामान्य निन्दा गर्न पनि अस्वीकार गर्‍यो, उसले आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयतालाई लिलामीमा राख्यो,” इरानका सभामुख मोहम्मद बाघेर घालिबाफले सरकारी टेलिभिजनलाई भनेका छन् ।

advertisement

तर, यो निर्णय कार्यान्वयन हुन देशको गार्जियन काउन्सिलको स्वीकृति गर्न आवश्यक रहेको बताइएको छ । इरानको कानुनअनुसार, कानुनको जाँच गर्ने अधिकार देशको गार्जियन काउन्सिललाई दिइएको छ ।

देशको गार्जियन काउन्सिलले यो अनुमोदन गरेमा इरानको आणविक ऊर्जा संगठनले आणविक केन्द्रहरूको सुरक्षा सुनिश्चित नभएसम्म आईएईएसँगको सहकार्य स्थगन गर्ने बताइएको छ ।

उपस्थित सांसदमध्ये २२१ जनाले पक्षमा मतदान गरेका थिए । कसैले पनि विपक्षमा मतदान नगरेको सरकारी टेलिभिजनले जनाएको छ ।

इस्लामिक रिभोलुस्नरी गार्ड कोरको आधिकारिक सञ्चार शाखा सेपाह न्युजले इरानको संसद् मज्लेसमा आईएईएसम्बन्धी प्रस्ताव पारित भएको घोषणा गर्दै इरानको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य स्थगन गरिएको बताएको छ । साथै, इरानले अन्तर्राष्ट्रिय संगठनहरूको नेतृत्व जासुसलाई जिम्मा दिन नसकिने पनि जनाएको छ ।

फ्रान्स२४

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com