काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै अपेक्षा गर्नु निरर्थक भएको टिप्पणी गरेका छन्।
शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले वर्तमान नेतृत्वले भाषण त गर्छ तर जिम्मेवारी वहन गर्न चुक्ने आरोप लगाएका छन ।
“अहिलेको नेतृत्व लेख्छ, बोल्छ, भाषण गर्छ, तर कर्तव्य पुरा गर्दैन,” भण्डारीले भने, “त्यसकारण मसमेत पर्ने यो नेतृत्वबाट धेरै आशा गर्नुको अर्थ छैन। हामी व्यवहारिक बन्नुपर्ने समय आएको छ।”
उनले अझै पनि सीमान्तकृत वर्गका बालबालिकाले निःशुल्क शिक्षा पाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताए। साथै, शिक्षालाई पैसासँग तुलना गर्नु गलत भएको उल्लेख गर्दै शिक्षा सबैका लागि सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया