काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न स्पेन भ्रमणलाई देशका लागि अनावश्यक र फजुल खर्च भएको टिप्पणी गरेका छन्।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले देश गम्भीर संकटमा रहेको बेला प्रधानमन्त्री विदेश भ्रमणमा जानु उचित नहुने बताए। साहले युद्धग्रस्त क्षेत्रबाट नेपालीहरूलाई सुरक्षित रूपमा उद्धार गर्न असफल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले सिंगो टोलीसहित विदेश भ्रमण गर्नु राष्ट्रहितविपरीत भएको दाबी गरे।
उनले भने, “देशमा बाढीपहिरोको जोखिम बढेको छ, युद्धग्रस्त मुलुकहरूमा अलपत्र नेपालीहरूको अवस्था गम्भीर छ। यस्तो संवेदनशील समयमा प्रधानमन्त्री विदेश भ्रमणमा जानु निरर्थक मात्र होइन, जनभावनाविपरीत पनि हो।”
साहले प्रधानमन्त्री ओलीको विदेश भ्रमणबाट कुनै ठोस उपलब्धि नआउने दाबी गर्दै गत वर्ष पनि प्राकृतिक विपद्को समयमा प्रधानमन्त्री विदेश सयरमा निस्किएको उदाहरण पेश गरे।
प्रधानमन्त्री ओली आउँदो असार १६ गते चार दिने स्पेन भ्रमणमा जान लागेका छन्।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया