वीरगन्ज । वीरगन्ज महानगरपालिका–२८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटनामा परेर दुई किशोरको घटनास्थलमै ज्यान गएको छ। एक जना किशोर गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बगही गाउँका १७ वर्षीय आकाश पटेल र सोही उमेरका गोलु पटेल रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टले जानकारी दिए।
शुक्रबार दिउँसो करिब २ बजेतिर भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खस्दा दुर्घटना भएको हो। नम्बर प्लेट मेटिएको उक्त ट्याक्टरमा सवार आकाश चालक थिए भने गोलु उनको साथमा थिए। ट्याक्टरले उनीहरूलाई च्याप्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा वीरगन्ज–२८ इनर्वा गाउँका करिब १८–१९ वर्षीय जयकुमार मण्डल घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक दुवै जनाको शव मुचुल्का उठाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया