काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले ठोस उपलब्धि दिन नसक्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले पटक–पटक जनमतको परीक्षणमा सफल भएका पुराना दलहरूमाथि जनताले प्रश्न गरिरहेकाले हालै मात्र गठन भएका दलहरूबाट अपेक्षा गर्नु यथार्थसम्मत नहुने टिप्पणी गरे।
“पटक–पटक परीक्षामा पास भएका दलहरूलाई जनताले प्रश्न गर्छन्,” सिंहले भने, “परीक्षणमै नगएका नयाँ दलहरूले मात्रै कुरा गर्दैमा देश अगाडि बढ्दैन।”
उनले नेपाली कांग्रेस जनताको अधिकारका लागि लामो संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै जनतामाझ पटक–पटक परीक्षा दिँदै आएको पार्टीको योगदानलाई बेवास्ता गरेर नयाँ दलहरूबाट अपेक्षा गर्नु तर्कसंगत नहुने बताए।
सिंहले जनताको हितमा दीर्घकालीन फाइदा पुग्ने काममा ध्यान दिनुपर्नेमा जोड दिए। साथै, सबैको कुरा सुनेर निर्णय लिनुपर्ने भए पनि अन्तिम लक्ष्य जनहितमै केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले नेपाली कांग्रेसका भ्रातृ संगठन र शुभेच्छुक संघसंस्थाहरू सुदृढ नभएसम्म लोकतान्त्रिक अभ्यास बलियो नहुने भन्दै ती संरचनाहरूलाई सशक्त बनाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
“पार्टी र यसको संगठन बलियो भयो भने मात्र हामीले सन्तोषको सास फेर्न सक्छौं, होइन भने अप्ठेरो पर्छ,” सिंहले स्पष्ट पारे।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार












प्रतिक्रिया