काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्षकै रूपमा निरन्तर जिम्मेवारी दिँदै जाने निर्णय गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले नेपालमाथि भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधका रूपमा लगाइएको ठहर गर्दै अध्यक्षको भूमिकामा कुनै परिवर्तन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।
‘अध्यक्ष कमरेड अहिले पनि अध्यक्षकै रूपमा काम गरिरहनुभएको छ,’ बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए। ‘उहाँले बैठकको अध्यक्षता पनि गर्नुभएको छ।’
तर संसदीय दलको नेताबारे निर्णय भने संसदीय दलको बैठकमार्फत हुने उनले स्पष्ट पारे। ‘संसदीय दलको नेताबारे निर्णय गर्न दलको बैठक बस्छ, त्यहीँ छलफल र निर्णय हुनेछ,’ ज्वालाले भने।
नेपाललाई पतञ्जलि समूहसँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतले उक्त मुद्दामा उनलाई ३५ लाख धरौटीमा रिहा गरेको थियो।
भ्रष्टाचार अभियोगका कारण अध्यक्ष नेपालको सांसद पद हाल निलम्बनमा रहेको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया