काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नहुँदै त्यसको चर्चा फैलाउने स्वार्थी समूहप्रति कडा टिप्पणी गरेका छन्।
शनिबार जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा एकल बहुमत ल्याउने मिसनमा लागेको बताउँदै केही व्यक्तिहरू अनावश्यक रूपमा महाधिवेशनको हल्ला मच्चाउँदै हिँडेको आरोप लगाए।
‘महाधिवेशन लागेको जस्तो वातावरण बनाउने काम केही स्वार्थीको मात्र हो। हाम्रा कार्यकर्ताले त्यसो महसुस गरेका छैनन्,’ ओलीले भने, ‘यस्ता स्वार्थीहरूको पहिचान गरी समयमै उचित हिसाब–किताब गरिनेछ।’
उनले पार्टीको मूल लक्ष्य मिसन २०८४ अन्तर्गत मुलुकमा समृद्धि, विकास र सुशासन कायम गर्नु रहेको स्पष्ट पार्दै अहिलेको आवश्यकता संगठनात्मक सुदृढीकरण र एकतामा केन्द्रित हुनु पर्ने बताए। ‘हामी अर्जुन दृष्टिकोणसहित अघि बढिरहेका छौँ। यो मिसनलाई सबैले आत्मसात् गर्नुपर्छ,’ उनले जोड दिए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका सुधारबारे पनि बोले। उनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण हुनुमा शिक्षक, विद्यार्थी तथा अभिभावकको योगदान प्रशंसनीय रहेको बताए।
उनले आगामी वर्ष शिक्षा क्षेत्रमा अझ सुधार ल्याउने प्रतिवद्धता जनाउँदै एसइईको तयारीका लागि देशभरका विद्यार्थीलाई लक्षित गरी महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने जानकारी पनि दिए। साथै, मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई पनि आवश्यक सहयोग पुर्याइने आश्वासन दिए।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले पार्टीभित्र देखिएको आन्तरिक गुटबन्दी र अनुशासनहीनता प्रति स्पष्ट संकेत गरेको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार












प्रतिक्रिया