काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी सुदृढ बनाउन नेताकार्यकर्ता र भ्रातृ सङ्गठनहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१० द्वारा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरू बलियो भएमा पार्टी स्वयम् मजबुत हुने उल्लेख गर्दै सबै तहमा सहकार्य र समन्वयको आवश्यकता औंल्याए।
“पार्टी, भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू सशक्त भए जनताको विश्वास अझै बलियो बन्छ,” सिंहले भने, “हामी जनता माझ पटकपटक परीक्षित भइसकेका छौं, अब हाम्रो कार्यदिशा विकास र निर्माणमा केन्द्रित हुनुपर्छ।”
उनले नेपाली कांग्रेस जनताको विश्वास प्राप्त गरिसकेको पार्टी भएको उल्लेख गर्दै अबको यात्रा जनहित र समृद्धिप्रति उन्मुख हुनुपर्ने धारणा राखे।
सिंहले कांग्रेसको ऐतिहासिक योगदानलाई स्मरण गराउँदै भने, “२००३ सालमा स्थापना भएको हाम्रो पार्टीले लोकतन्त्र, मानवअधिकार र गणतन्त्र स्थापनामा निर्णायक भूमिका निर्वाह गरिसकेको छ। मुलुकको परिस्थिति बुझेर समयअनुकूल कदम चाल्नु आजको आवश्यकता हो।”
एमाले र कांग्रेसबीचको वर्तमान सत्ता गठबन्धनबारे बोल्दै उनले गठबन्धन गठनका बेला भएको सहमतिअनुसार सरकार अघि बढिरहेको र नयाँ दलहरूको कारणले सो सहमति भंग नहुने स्पष्ट पारे।
“नयाँ पार्टीहरूले जे भने पनि त्यसलाई स्वीकार गर्दै जान मिल्दैन,” सिंहले भने, “जनताको अधिकारका लागि संघर्ष गरेका परम्परागत दलहरूलाई बेवास्ता गरेर आन्दोलनमा सहभागी नभएका नयाँ दलहरूबाट ठूला अपेक्षा गर्नु यथार्थसम्मत हुँदैन।”
उनले संघर्षको लामो इतिहास बोकेका दलहरूको भूमिका अस्वीकार गर्न नहुने उल्लेख गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा सबै दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए।
“सबैको विचार सुनेर, जनताको चाहनाअनुसार काम गर्दा राष्ट्र, जनताअनि सरकारलाई दीर्घकालीन लाभ पुग्छ,” उपप्रधानमन्त्री सिंहले भने, “अबको हाम्रो उद्देश्य जनताको हितमा केन्द्रित योजनाहरू लागू गर्नु हो।”
सिंहले पार्टीलाई समन्वय र सहकार्यको माध्यमबाट अझ प्रभावकारी बनाउँदै, जनविश्वास बढाउने दिशामा एकजुट भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका थिए।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया