काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले टुट्छ, भत्किन्छ भन्ने कल्पना त्याग्न विरोधीहरूलाई चेतावनी दिएका छन्।
शनिबार जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्। मदन भण्डारी फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले एमालेप्रति फैलाइएका अफवाहप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
“एमालेको कार्यक्रम कसरी भाँड्ने? विद्या भण्डारी आउने कार्यक्रममा के विवाद खडा गर्ने? भन्ने योजनासहित केहीले ठूलो अपेक्षा राखेका छन्,” ओलीले भने, “म ड्याङ ड्याङ बम पड्काउँछु, विद्या भण्डारीले पनि ठुलो कुरा गर्नुहुन्छ अनि यहाँबाट एमाले टुक्रिन्छ भन्ने सपना देखिरहेका छन्। तर, त्यो सपना झुटो हो।”
उनले स्पष्ट रूपमा भने, “एमालेभित्र कुनै बम बारुद पड्किँदैन। पार्टी एक छ र एकताबद्ध रूपमा अघि बढ्नेछ।” कार्यक्रममा ओलीले जननेता मदन भण्डारीको पार्टीभित्रको योगदानलाई स्मरण गर्दै भने,
“मदन भण्डारीले आफैँ महासचिव बन्ने इच्छा व्यक्त गर्नुभएको थिएन। गम्भीर छलफल, अध्ययन र विश्लेषणपछि हामीले उहाँलाई पार्टीको महासचिव बनाएका थियौं।”
उनका अनुसार, मदन भण्डारीको विचार, दूरदृष्टि र राजनीतिक विवेकका कारण पार्टीभित्र स्वतः सहमतिको वातावरण बनेको थियो।
“जबजको अवधारणाको वैचारिक जग तय गर्न मदनको अग्रणी भूमिका थियो,” ओलीले बताए, “महासचिव बन्ने निर्णय हामी सबैको सामूहिक निष्कर्ष थियो।”
प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद (जबज) को इतिहासबारे धारणा राख्दै यसको प्रारम्भ ०४६ सालको चौथो महाधिवेशनबाटै सुरु भएको बताए।
“पाँचौँ महाधिवेशनबाट होइन, चौथो महाधिवेशनबाट जबजको गणना गर्नुपर्छ,” उनले भने, “त्यतिबेलासम्म जबजले काम गरेर देखाइसकेको थियो, नाम मात्र नराखिएको हो।”
उनले तीन दशकभन्दा बढीको जबज यात्रालाई चुनौती र संघर्षको कालखण्डको रूपमा स्मरण गरे।
“०५० साल जेठ ३ गते मदन भण्डारीको निधनपछिका तीन दशक झनै जटिल र चुनौतीपूर्ण रहे। यी दशकहरू विचार, संगठन र अस्तित्वको लडाइँका दशक हुन्,” ओलीले जोड दिए।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार












प्रतिक्रिया