काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जनताको बहुदलीय जनवादको अभिन्न हिस्सा भएको बताएका छन्। उनले यसमा कुनै सम्झौता वा अपव्याख्या हुन नहुने स्पष्ट पारे।

शनिबार जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्र उठेका विषयहरूलाई विधिसम्मत र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

advertisement

उनले भने, “२०७८ साल असोजमा भएको विधान महाधिवेशनले मात्र होइन, त्यो महाधिवेशनले पारित गरेका दस्तावेजहरू — राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान — गहिरो छलफल र समन्वयको उपज हुन्।”

पोखरेलका अनुसार ती दस्तावेजहरूमा पार्टीमा उमेर, कार्यकाल, सन्तुलन र नियन्त्रण जस्ता विषयहरू केवल औपचारिकताका लागि होइन, सुविचारित ढंगमा समेटिएका थिए।
“यी कुनै झ्वाट्टै उठेका कुरा होइनन्। लामो छलफल र विश्लेषणपछि निष्कर्षस्वरूप हामीले विधानमा समावेश गरेका हौँ,” उनले प्रस्ट पारे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले पुनः विधान महाधिवेशनको तयारी भइरहेकाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र कार्यपद्धतिको बहस हुनु स्वाभाविक भएको बताए।
“कुरा उठ्छन्, छलफल हुन्छ। यो नै उचित समय हो जहाँ अलिअलि बहस र विवाद हुनु पनि सामान्य प्रक्रिया हो,” उनले भने।

उनले थपे, “विधान र नेतृत्व चयन दुवै प्रक्रिया एउटै महाधिवेशनमा गर्दा गहिरो छलफलको मौका नहुने भएकाले पृथक रूपमा आयोजना गर्ने व्यवस्था गरिएको हो।”

कार्यक्रमको अन्त्यमा पोखरेलले पार्टीभित्र देखा परेका समस्याहरू समाधान गर्न नेकपा एमाले सक्षम रहेको दाबी गरे।
“संविधान, विचार र सांगठनिक अनुशासनको बलमा एमालेले जुनसुकै चुनौती पार गर्न सक्छ,” उनले भने।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com