काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई यथास्थितिवादबाट मुक्त गर्दै समाजवादी मार्गमा अघि बढाउने दृढ निश्चय गरिएको बताएका छन्।

माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले पार्टीका केन्द्रीय सल्लाहकार स्व. कृष्णलाल गोजा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले विगतमा देखिएको विचलनबाट अब फर्किएर आदर्श, समर्पण र वर्ग संघर्षको बाटो समातेको दाबी गरे।

advertisement

“पार्टीमा गम्भीर दुर्घटनाको जोखिम थियो। त्यसैले हामीले केन्द्रीय समितिको बैठकबाट नयाँ संकल्प गर्दै पार्टीलाई फेरि एकपटक सिद्धान्त, वर्ग संघर्ष र सामूहिक प्रतिबद्धताको दिशामा फर्काएका छौं,” उनले भने।

दाहालले विगतका जनयुद्ध, जनक्रान्ति र जनआन्दोलनमा देखिएको त्याग, तपस्या र समर्पण भाव अहिलेका कार्यकर्तामा खडेरी परेको टिप्पणी गर्दै, “अब त्यो भावनालाई पुनर्जीवित गर्नुपर्ने बेला आएको छ,” भने।

उनका अनुसार पार्टीमा व्यक्तिगत स्वार्थ, पद र अवसरको लडाइँ बढ्दै जाँदा वर्गीय मुद्दा र जनसमुदायसँगको सम्बन्ध कमजोर भएको छ। उनले चेतावनी दिँदै भने, “यदि यस्तो अवस्था कायम रह्यो भने कम्युनिष्ट आन्दोलनको भविष्य र हाम्रो सपना अधुरै रहनेछ।”

दाहालले पार्टीको मूल उद्देश्यलाई पुनः स्पष्ट पार्दै भने, “हामी फेरि समाजवादी क्रान्तिको तयारीमा छौं। समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, सहिद, बेपत्ता र पीडितहरूसँगको सम्बन्धलाई पुनः जीवन्त बनाउँदै अघि बढ्ने हो।”

उनले पार्टीभित्र सुरु गरिएको रुपान्तरण अभियानलाई गम्भीरतापूर्वक आत्मसात् गर्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा अध्यक्ष दाहालले कृष्णलाल गोजा श्रेष्ठको निधनले पार्टीले निष्ठावान्, आदर्शवादी र समर्पित अभिभावक गुमाएको अनुभूति भएको बताए। “उहाँप्रति सम्मान जनाउनु भनेको उहाँले बोक्नुभएको मूल्य, विचार र आदर्शलाई अंगीकार गर्नु हो,” उनले निष्कर्ष टाँगे।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com