काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार स्पेनको सेभिया सहरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेका थिए। बिदाइका क्रममा उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली सहभागी भएका हुन्। सम्मेलनमा विश्वका सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, नागरिक समाज तथा राष्ट्रसंघीय निकायका प्रतिनिधिको सहभागिता रहनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सम्मेलनमा अल्पविकसित, साना र टापु राष्ट्रहरूको विकास चुनौतीबारे धारणा प्रस्तुत गर्नेछ। सम्मेलन दिगो विकासका लागि आवश्यक लगानी र वित्त स्रोत परिचालनका उपायहरूमा केन्द्रित हुनेछ।
प्रधानमन्त्री ओलीले सम्मेलनको अवसरमा स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट र समकक्षी सान्चेजसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ लगायत सहभागी छन्।
प्रधानमन्त्री ओली असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया