काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे टुंगो लगाउने तयारीमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारमा बसेको छ। विधेयकमाथि बाँकी रहेका जटिल विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्डको भूमिका, विद्यालय गाभ्ने प्रक्रिया, विषयगत शिक्षकको व्यवस्थापनलगायतका विषयहरूमा चर्चा भइरहेको छ।
सरकारले नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा ऐन ल्याउने सहमति गरेको म्याद आज (असार १५) सकिँदैछ। शिक्षक महासंघले वैशाख १७ गतेदेखि आन्दोलन थालेपछि सरकारसँग भएको वार्तामा असार १५ भित्र ऐन ल्याउने सहमति भएको थियो। तर, ऐन आजै जारी हुने सम्भावना अझै सुनिश्चित छैन।
यसबीच, समितिमा धेरै बुँदामा सहमति भइसके पनि केही बुँदाहरूमा अझै टुंगो लागेको छैन। अन्तिम दिन भएकाले शिक्षक महासंघका प्रतिनिधिहरू बिहानैदेखि सिंहदरबार पुगेर सांसदहरूमाथि दबाब दिन थालेका छन्।
समितिको बैठक अहिले पनि चलिरहेको छ, र विधेयकका विवादित प्रावधानबारे निष्कर्ष निकाल्ने प्रयास तीव्र पारिएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया