काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले “सुमिरे टुर एन्ड ट्राभल्स” कम्पनी आफ्नो स्वामित्वमा रहेको स्पष्ट पार्दै अनावश्यक आरोपप्रति आपत्ति जनाएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सो ट्राभल्समार्फत विगत दशकदेखि भिजिट भिसाका नाममा हजारौं नेपालीलाई जापान पठाएर अरबाैँ रकम उठाइएको आरोप लगाएका थिए। खतिवडाले सो कम्पनीमार्फत “सांसद किनेर संसदमा प्रवेश गरिएको” आरोपसमेत लगाएका थिए।

advertisement

उक्त टिप्पणीको जवाफ दिँदै आइतबारको प्रतिनिधि सभामा अर्यालले भने, “सुमिरे टुर एन्ड ट्राभल्स मेरो नै कम्पनी हो, र म गर्वका साथ यो तथ्य स्वीकार्छु।”

अर्यालले आफू देशमै व्यवसाय गरेर जीवनयापन गर्ने व्यक्ति भएको उल्लेख गर्दै, कसैको “घडी बिग्रिएको हो भने त्यो आफ्नो समस्या” भनेर राजनीतिक कटाक्ष पनि गरे।

उनले थपे, “मेरो कम्पनीबाट भिजिट भिसामा गएकामध्ये एक जनासमेत नफर्किएको उदाहरण छैन। हामी कानुनी दायराभित्र रही व्यवसाय गर्दै आएका छौं।”

अर्यालले आफ्नो व्यवसायलाई मानव तस्करीसँग जोडेर लाञ्छना लगाउने प्रयास अस्वीकार्य रहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

“हामी ३२ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको विरुद्ध आवाज उठाइरहेका छौं,” उनले भने, “तर विषयान्तर गर्न हामीमाथि निराधार आरोप लगाउने प्रयास भइरहेको छ। यस प्रकारको आरोप संसद्को रेकर्डबाट हटाइनुपर्छ।”

अर्यालले आफूहरूको कम्पनीबाट कसैले विदेश गएका छन् भने त्यसको प्रमाण पेश गर्न चुनौती दिँदै भने, “यदि कुनै एक व्यक्तिले पनि पैसा तिरेर मेरो कम्पनीमार्फत भिजिट भिसामा गएका छन् भने प्रमाण ल्याउनुस्। होइन भने यस्तो निराधार आरोप हटाइनुपर्छ।”

उनले भिजिट भिसाका नाममा भइरहेको अनियमितता र शोषणविरुद्ध रास्वपाको आन्दोलन निरन्तर रहने पनि प्रस्ट पारे।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com