काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच तीव्र वाक्य संघर्ष भएको छ। अर्यालले आफूलाई अप्रत्यक्ष रूपमा लक्षित गर्दै आरोप लगाइएको भन्दै सांसद खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन्।
बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले रास्वपाका अर्याललाई बोल्न समय दिएका थिए। अर्यालले हिजोको बैठकमा आफूहरूमाथि ‘निराधार आरोप’ लगाइएको भन्दै आपत्ति जनाए।
“काम गरेर खानेहरूलाई चोरेर खानेहरूले जवाफ दिनुपर्ने समाज निर्माण गरेका छौं,” भन्दै उनले मानव तस्करीविरुद्ध ३३ दिनदेखि भइरहेको आन्दोलनको चर्चा गरे। उनले आफ्नो नाम जोडेर आक्षेप लगाउनेहरूकै विगतमा पनि आपराधिक गतिविधि रहेको आरोप लगाए।
“२०४८ सालमा मन्त्रीको पीए भएर कागज किर्ते गर्ने र हनुमानढोकाको छिँडीमा बसेका व्यक्ति अहिले संसदमा छन्,” भन्दै अर्यालले सिधा आरोपको शैलीमा बोले। उनले थपे, “हो, म सुमिरे टुर्स एन्ड ट्राभल्सको सञ्चालक हुँ। केही गरेर खान्छु, चोरेर होइन। हामीले पैसा लिएर नफर्काएको प्रमाण छ भने ल्याउनुस्, नत्र निराधार आरोप संसदको रेकर्डबाट हटाउन सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु।”
अर्यालको वक्तव्यकै बीच कांग्रेस सांसद खतिवडाले नियमापत्ति गर्न खोजे तर सभामुखले उनलाई रोके। अर्यालको सम्बोधन सकिएपछि खतिवडाले जवाफी धारणा राख्दै भने, “चोरको खुट्टा काट् भन्दा खुट्टा झिक्नेहरू देखिन्छन्। हामीले कुनै नाम लिएका थिएनौं, निष्पक्ष छानबिनको माग गरेका थियौं। अहिले अर्यालले बोलेका केही शब्द संसदको रेकर्डबाट हटाइनुपर्छ।”
त्यसपछि सभामुख घिमिरेले दुवै सांसदलाई सम्बोधन गर्दै जिम्मेवार अभिव्यक्ति प्रयोग गर्न सुझाव दिए। उनले संसदमा प्रयोग हुने भाषाको मर्यादा कायम राख्नुपर्ने भन्दै भने, “आफ्नो अभिव्यक्तिमा सांसदहरू जिम्मेवार हुनुपर्छ। निराधार आरोप, व्यक्तिगत लान्छना वा गैरसंसदीय भाषा संसदको रेकर्डमा नरहने परम्परा छ। यस्ता विषयमा सभामुखले निर्णय गर्ने अधिकार राख्छ।”
संसदमा पछिल्ला दिनहरूमा भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी र त्यसमा संलग्न भनिएका व्यक्तिबारे बढ्दो बहससँगै अभिव्यक्तिहरू चर्किंदै गएका छन्। आजको वाक्युद्ध त्यसैको एउटा झल्को बनेको छ ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया