काठमाडौं । इरानका वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासेर मकारेम शिराजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ‘ईश्वरका शत्रु’ ठहर गर्दै कडा धार्मिक आदेश (फतवा) जारी गरेका छन्।
मेहर न्यूज एजेन्सीका अनुसार, आयतोल्लाह मकारेम शिराजीले जुन १३ मा जारी फतवामा विश्वभरका मुस्लिम समुदायलाई एकताबद्ध भएर इस्लामिक गणतन्त्र इरानलाई धम्की दिने अमेरिकी र इजरायली नेताहरूको विरोधमा उभिन आह्वान गरेका हुन्।
फतवामा भनिएको छ, “जो कोही व्यक्ति वा सत्ताधारीले इस्लामिक नेताहरूलाई धम्की दिन्छ, उसलाई ‘मोहारेम’ अर्थात् ईश्वरसँग युद्ध गर्ने व्यक्तिको रूपमा लिइन्छ।”
इरानी कानुनअनुसार मोहारेम ठहरिएका व्यक्तिलाई मृत्युदण्ड, अंगभंग, क्रुसमा टाँग्ने वा देशनिकाला गर्ने सजाय तोकिएको छ, फक्स न्यूजले उल्लेख गरेको छ।
मकारेमको फतवामा थप भनिएको छ, “इस्लामिक मुलुकहरू वा मुस्लिमहरूले यस्ता शत्रुलाई कुनै पनि प्रकारको सहयोग वा समर्थन गर्नु हराम मानिन्छ। विश्वभरका सबै मुस्लिमहरूले यस्ता शत्रुलाई पश्चाताप गर्न बाध्य पार्नुपर्ने धार्मिक कर्तव्य हो।”
फतवामा यह पनि उल्लेख छ कि, “यदि कुनै मुस्लिमले आफ्नो धार्मिक कर्तव्य पालना गर्दा कठिनाइ वा क्षति भोग्छ भने, त्यो व्यक्तिलाई ईश्वरले आफ्नो मार्गमा संघर्ष गर्ने वीरको रूपमा सम्मान गर्नेछन्।”
यो फतवा हालै सुरु भएको १२ दिने इजरायल–इरान युद्धपछिको प्रतिक्रिया स्वरूप आएको हो। उक्त युद्धमा इजरायलको आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी तथा आणविक वैज्ञानिकहरूको मृत्यु भएपछि, तेहरानले इजरायली सहरहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गर्दै कडा जवाफ दिएको थियो।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया