काठमाडौं । राजनीतिक पहुँच, सत्ताको आड र पत्रकारिताको आवरणमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ समेत रहेका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उनका छोरासहित पत्रकार कृष्ण ज्वाला देवकोटामाथि गम्भीर आरोप लागेको छ। जनताको करबाट संचालित राज्य संयन्त्रको प्रमुख भूमिकामा बसेका पात्रहरुको यो ‘भव्य उत्थान’ पछाडिको आम्दानीको स्रोत के हो ? गम्भीर प्रश्न नेपाली राजनीतिमा उठेको छ।
कास्कीको ढिकुरपोखरीमा जन्मेर खाली खुट्टा चितवन आएर बामपंथी राजनीतिमा लागेका नारायण प्रसाद दाहाल र उनका छोरा समिर दाहाल जनयुद्धपूर्व अण्डा व्यापारमा संलग्न थिए। उनिहरु अण्डा व्यवसायमा नाफा कमाउनुको सट्टा घाटामा गएपछि समीर दाहाल आफ्नो मात्र नभई अरु थुप्रै व्यक्तिहरूको लगानी समेत डुबाएको इतिहास बोकेका पात्र हुन्। तर अहिले उनै समीर दाहाल कुनै ठोस, पारदर्शी र सार्वजनिक रूपमा देखिने वैधानिक आम्दानी बिना राजधानीका विभिन्न स्थानहरुमा बहुमूल्य र अरबौंको सम्पत्तिका मालिक बनेका छन्।
काठमाण्डौंको धापासी हाइटमा रहेको ९४ आना जग्गा यसको एक ठोस उदाहरण हो। केही वर्ष अगाडिसम्म नेचर क्लब धापासीले भोगचलन गर्दै आएको काठमाडौं रिङरोड नजिकै रहेको उक्त भू–सम्पत्तिको अहिलेको बजार मूल्य ७० करोड भन्दा बढी भएको स्थानीयहरु बताउँछन्। उक्त करोडौं सम्पत्तिमा उनै समिर दाहाल र नयाँ पत्रीकाका प्रकाशक समेत रहेका पत्रकार कृष्ण ज्वाला देवकोटाको साझा स्वामित्वमा रहेको पाइएको छ। मालपोत कार्यालयको अभिलेखमा उनीहरूले उक्त जग्गा २०७७ माघ ४ मा किनेको देखिन्छ ।
जनयुद्ध पश्चात ‘प्रचण्ड’ का स्वकीय सचिव समेत भएर काम गरेका समीर दाहालले त्यसैबेला कृष्ण ज्वालासँग घनिष्ट सम्बन्ध बनाएका थिए। केहि समय शिक्षक पेशामा आवद्ध कृष्ण ज्वाला देवकोटा शिक्षक पेशाबाट पत्रकारीता क्षेत्रमा लागेका थिए। पछिल्लो समय समीर दाहालसँग जब उनी नजिक भए तब उनै कृष्णज्वाला देवकोटा एकाएक नवधनाड्य भएर उदाए । केहि साथीहरुसंग मिलेर पत्रिकाबाट व्यवसाय सुरु गरेपछि कृष्ण ज्वालाले त्यसपश्चात पछाडी फर्कन परेको छैन्।
समिर दाहाल र कृष्ण ज्वालाले चितवनमा समेत महँगो नर्सिङ्ग कलेजमा लगानी गरेको स्रोतको दावी छ। यस बाहेक अन्य केहि स्थानमा समेत साझा स्वामित्वमा घरजग्गा देखि विभिन्न व्यवसायमा समेत लगानी गरिरहेका छन् ।
समिर दाहालकी श्रीमती कल्पना बिसुरालको नाममा काठमाडौंको बुद्धनगरमा नौ आनामा बनेको आलिसान महल छ। चितवनको शिवनगरमा २०७५ सालमा आधाबिघा जग्गा पनि किनेका छन्। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि पेप्सीकोलामा घर बनाएर कान्छा छोरालाई आफुसँग राखेका छन्। कान्छा छोरा कुनै व्यवसाय गर्दैनन्। छोरी-ज्वाईको पनि व्यवसाय बिग्रेर डामाडोल भएको उनकै नजिकको आफन्तहरु बताउँछन्। तर, उनीहरुलाई पनि अहिले पेप्सीकोलामा छुट्टै घर बनाइदिएका छन् । चितवनको भरतपुरमा समेत नारायण दाहालको आलिसान महल छ। करोडौं खर्च गरेर समिर दाहालले तामझामका साथ आफ्नो छोराको विवाह काठमाडौंकै महङ्गो गोकर्ण रिसोर्टमा गरेपछी माओबादी कार्यकर्ता आश्चर्यमा परेका थिए ।
पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाई समेत रहेका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उनका परिवार सहित कृष्णज्वाला देवकोटाको सम्पति बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण बिभागमा समेत उजुरी हाल्ने तयारी भैरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया