काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार साइबर ब्युरोमा परेको उजुरीको आधारमा पत्रकार पाठकमाथि मुद्दा दर्ता गरेको हो।

परिवर्तित नाममा दर्ता गरिएको उजुरीका आधारमा पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा लगाइएको छ। उक्त दफाअनुसार विद्युतीय माध्यमबाट गैरकानुनी सामग्री प्रकाशन गरेको अभियोगमा अधिकतम पाँच वर्ष कैद, एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय माग गरिएको छ।

advertisement

उजुरीदाताले उजुरीमा आफ्नो तस्बिर प्रयोग गर्दै ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकसहितको सामग्री अनलाइनमा प्रकाशित गरी आफूलाई मानहानी, घृणा र द्वेष फैलाउने तथा चरित्रहत्या गर्ने कार्य भएको दाबी गरेका छन्।

उक्त सामग्रीमा काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको तथा दीपक भट्टमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा त्यस होटलमा संलग्न रहेको र सो व्यापार क्यानडासम्म फैलिएको उल्लेख गरिएको थियो।

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा उक्त सामग्री प्रकाशनका लागि प्रयोग भएका कम्प्युटर, फ्लपी, सीडी, टेप ड्राइभ, सफ्टवेयरलगायतका सबै उपकरणहरू जफत गर्न पनि अनुरोध गरेको छ। साथै, पीडितलाई क्षतिपूर्ति दिलाउने मागसमेत अभियोगपत्रमा समावेश गरिएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com