काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान नेतृत्वमाथि कडा आलोचना गर्दै कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै कोइरालाले महाधिवेशनको अनिश्चितता, गठबन्धनबारे अस्पष्ट नीति, अनुशासन समितिको स्वेच्छाचारिता, र भातृसंस्थाहरूको अस्तव्यस्तताप्रति गम्भीर प्रश्न उठाए।

advertisement

“मैले १४औँ महाधिवेशनपछि पार्टी एकता कायम राख्न संयमता अपनाएँ,” कोइरालाले भने, “तर नेतृत्वले त्यसलाई कमजोरी ठानेको देख्दा अब चुप लागेर बस्न सकिन्न।”

उनले पार्टीको १५औँ महाधिवेशन २०८२ मंसिरमै हुनुपर्ने अडान दोहोर्‍याउँदै, यदि त्यो सम्भव छैन भने सभापति र पदाधिकारीहरूले “चित्तबुझ्दो कारणसहित स्पष्ट जवाफ दिनुपर्ने” बताए।

गठबन्धनको सन्दर्भमा पनि कोइरालाले नेतृत्वको भूमिका माथि प्रश्न गरे। “२०७९ मा माओवादीसँग गठबन्धन गर्‍यौँ, अहिले एमालेसँग सरकार चलाउँदैछौं। सैद्धान्तिक स्पष्टता बिना गठबन्धन निर्माण र विघटन किन र कसरी हुँदैछ?” उनले जिज्ञासा राखे।
“संविधान संशोधनका लागि गठबन्धन गरिएको भनिएको थियो, तर सात बुँदे सहमतिमा भएको त्यो विषय अहिले कहाँ हरायो? सभापतिले यसको उत्तर दिनैपर्छ,” उनले जोड दिए।

भातृसंस्थाहरूको विषय उठाउँदै उनले नेविसंघ, तरुण दल, महिला संघ र दलित संघ पूर्ण रूपमा निष्क्रिय बनेको बताए। “ठूला समितिहरूले अधिवेशन गर्न सकिरहेका छैनन् भने पार्टीले जिम्मा लिनुपर्छ,” उनले भने।
“महिला संघको सदस्यता नवीकरण नहुँदा अधिवेशन नै असम्भव छ, र दलित संघका ४२ जिल्ला समिति अध्यक्षको व्यक्तिगत निर्णयमा विघटन गरिएको छ— त्यो अधिकार कसले दियो?”

कोइरालाले इलाममा महिला संघको कार्यक्रममा पुरुषले महिलामाथि हातपात गरेको घटनाप्रति सभापतिको ध्यानाकर्षण गराउँदै संगठनभित्रको अनुशासनहीनताको आलोचना गरे।

अन्त्यमा, उनले पार्टी एकताका लागि गुटबन्दी र भागबन्डाबाट अलग रहेर काम गर्दा पनि आफूलाई कमजोर देखाउने प्रयास भएकोप्रति पीडा व्यक्त गरे।
“म चुप बसेँ, सहनशील रहँे, पार्टीलाई एकतामा राख्न कोसिस गरेँ। तर त्यही भद्रता र धैर्यतालाई कमजोरी ठानियो, जुन अब सह्य छैन,” डा. कोइरालाको स्पष्ट सन्देश थियो।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com