काठमाडौं । एसीसी यू १६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज भुटानसँग खेलिरहेको छ ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल मंगलबार बिहान पौने ८ बजेबाट शुरु भएको हो । समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। नेपाल आजको खेलमा भुटानलाई हराउँदै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।
नेपालसँगै समूह ‘ए’बाट चार खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगिसकेको छ।
यस्तै समूह ‘बी’बाट मलेसिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्। आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। इस्ट जोन कपमा १० टोली सहभागी छन्।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। यस्तै समूह ‘बी’ मा आयोजक मलेसयासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
सेमिफाइनलका खेलहरू बिहीबारदेखि सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया