काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हेरफेरको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुगाँनाले जिम्मेवारी लिनुपर्ने बताएका छन्।
समितिबाट सर्वसम्मत पारित प्रतिवेदनमा उल्लेख नभएको ‘बाहेक’ भन्ने शब्द छलछामपूर्वक विधेयकमा समेटिएको भन्दै थापाले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। उनले विधि र प्रक्रियाविपरीत संसदको निर्णयमा हस्तक्षेप हुनु अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरेका छन्।
“राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले यो हेरफेरको जिम्मा लिनैपर्छ,” थापाले भनेका छन्, “यदि यस्तो गरिएको पुष्टि हुन्छ भने यो अत्यन्त गैरजिम्मेवार, जवाफदेहिताविहीन र क्षमायोग्य नहुने कार्य हो।”
विधेयकमा गरिएको हेरफेरका कारण प्रतिनिधि सभामा समेत चर्को बहस सुरु भएको छ। समितिका सदस्यहरू स्वयंले पनि सभामुख देवराज घिमिरेलाई भेटेर घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए।
थापाले भनेका छन्, “कानुन निर्माण प्रक्रिया विधि र मर्यादाअनुसार हुनु पर्ने हो, तर यहाँ संसद र सांसदहरूको सहमति विपरीत, कोही कसले कहाँ हस्तक्षेप गर्यो? यो कानुनी प्रक्रियामाथिको गम्भीर आघात हो।”
सांसद थापाले सार्वजनिक गरेका टिप्पणीसँगै विवाद झनै चर्किएको छ। अब छानबिनबाट सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कारबाही गर्नुपर्ने आवाज पनि बढ्दो छ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया