काठमाडौं । निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले केवल कर्मचारीलाई दोषारोपण गरेर सांसदहरू पन्छिन नहुने बताएकी छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले कुनैपनि विधेयक संसदीय समिति, उपसमिति हुँदै पूर्ण बैठकमा पुग्ने प्रक्रियाबाट अघि बढ्ने भएकाले गल्ती कहाँबाट भयो भन्ने यकिन पहिला गर्नुपर्ने धारणा राखिन्।

advertisement

श्रेष्ठले भनिन्, “’बाहेक’ भन्ने शब्द कसरी आयो भन्ने स्पष्ट छैन भन्ने बहानामा उम्कन मिल्दैन। त्यो शब्द त मूल विधेयकमै थियो, जबसम्म त्यसलाई औपचारिक रूपमा हटाइँदैन, त्यो कायम नै रहन्छ। त्यसैले कर्मचारीतन्त्रमात्र दोषी छ भनेर सांसदहरूले हात झिक्न मिल्दैन।”

उनले ‘कुलिङ पिरियड’ को अवधारणा निजामती कर्मचारी मात्र नभई निजी क्षेत्रका लागि समेत समावेश गरिनु पर्ने बताउँदै अहिलेको व्यवस्था नै प्रश्न योग्य भएको टिप्पणी गरिन्।

सांसद श्रेष्ठले पछिल्लो विवादप्रति सार्वजनिक धारणा बनाउने तर मर्म र प्रक्रियामाथि गहिरो सोच नदेखाउने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन्। “हेलचक्र्याइँ हो वा मिडियामा आएको खबरको भरमा बोल्ने प्रवृत्तिप्रति अब गम्भीर चिन्तन आवश्यक छ,” उनले भनिन्।

उनले गल्ती भएको स्वीकार गर्दै त्यसलाई सच्याउन सांसदहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्। “गल्ती भयो भने स्वीकार्नुपर्छ, सुधार गर्न तत्परता देखाउनुपर्छ,” श्रेष्ठको स्पष्ट भनाइ थियो।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com