काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले देशमा केही भएन भन्ने निराशा समाजमा गहिरिँदो देखिएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै अघि बढ्न आवश्यक रहेको धारणा राखेकी छिन्।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलमा बोल्दै सांसद गौतमले आर्थिक समृद्धि मात्र नभई सामाजिक रूपान्तरणलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिइन्। परिषद्ले सातै प्रदेशमा प्रादेशिक सम्मेलन सम्पन्न गरेपछि काठमाडौंमा ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२’ अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।
“नेपालमा केही भएन भन्ने निराशा हामी सबैको मनमा गढिरहेको छ। तर त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता हो,” सांसद गौतमले भनिन्, “हाम्रो पुस्ताले गणतन्त्रपछिको नेपाललाई बढी चिनेका छौं, त्यसैले अहिलेको मुल्यांकन हाम्रो आँखाबाट नै सुरु हुनुपर्छ।”
उनले विकास निर्माणका योजनाहरू समयमै पूरा नहुनु र जनतालाई महसुस हुने गरी आर्थिक उन्नति नदेखिनु नै असन्तुष्टिको मुख्य कारण भएको बताइन्। “हाम्रा भौतिक पूर्वाधार समयमै नसकिनु, आर्थिक समृद्धिको अनुभूति नहुनु नै जनआक्रोशको स्रोत हो,” उनले भनिन्।
गौतमले राजनीतिक दल र नेतृत्वले राष्ट्रिय गौरवका आयोजनामार्फत जनतालाई झूटा आशा मात्र बाँडेको भन्दै आलोचना गरिन्। “यथार्थमा नउत्रिने, सपना मात्र देखाउने चलनले अब काम गर्ने होइन। साँचो रुपान्तरणका लागि हामीले जिरोबाट सुरु गर्नुपर्छ,” उनले स्पष्ट पारिन्।
सांसद गौतमले युवाहरूको देशबाहिर पलायनप्रति चिन्ता व्यक्त गर्दै सोधिन्, “सबै जना देश छाड्ने हो भने देश बनाउने कसले? राज्यले जनशक्ति देशमै बस्ने वातावरण निर्माण गर्नुपर्छ।”
उनले युवालाई उद्यमशीलता, रोजगारी सिर्जना, पर्यावरण संरक्षण र समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन आह्वान गरिन्।
उक्त छलफल कार्यक्रममा सांसद गौतमसँगै एमालेका पदम गिरी, नेपाली कांग्रेसका उदयशमशेर जबरा र माओवादी केन्द्रका माधव सापकोटा सुबोध सहभागी थिए। कार्यक्रमले युवाहरूलाई समृद्ध राष्ट्र निर्माणमा सक्रिय सहभागी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया