काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियड हटाउने प्रक्रियामा गम्भीर विश्वासघात भएको आरोप लगाउँदै यस विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले पदको दुरुपयोग गर्दै कुलिङ पिरियड हटाउने प्रस्ताव अघि बढाइएको भन्दै ती व्यक्तिहरू छानबिनको दायरामा आउनुपर्ने बताए।

advertisement

उनले भने, “कुलिङ पिरियड राखिनुपर्छ भन्ने हाम्रो अडान हो। सर्वसम्मतिबाट त्यही निर्णय भएको थियो। तर त्यही विश्वासमा शायद फुल हाउसमा धेरै सांसदहरूले दफावार ध्यानपूर्वक पढेनन्। यो विश्वासघात हो। पदको दुरुपयोग गरी नियोजित ढंगले कुलिङ पिरियड हटाउने प्रस्ताव ल्याइयो।”

प्रवक्ता महतले कुलिङ पिरियड राख्ने निर्णयप्रति पार्टी प्रतिबद्ध रहेको र त्यसको उल्टो हुने गरी लछारपाटो लगाउन खोजिएकोमा गम्भीर आपत्ति जनाए। “यो घटना हाम्रो मूल्य र निर्णयमाथिको अवज्ञा हो। सरकारलाई यो प्रस्ताव सच्याउन, संशोधन गर्न र जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न आग्रह गर्छौं,” उनले स्पष्ट पारे।

कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई कमजोर पार्न खोज्ने प्रयासलाई कांग्रेसले संस्थागत धोका मानेको छ। त्यसैले यो विषयमा पारदर्शी र निष्पक्ष अनुसन्धान अनिवार्य भएको कांग्रेसको धारणा छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com