काठमाडौं । मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट लय समातेको छ। कप्तान विपिन शर्माको अगुवाइमा टिमले प्रतियोगितामा दबदबा कायम राख्न सफल भएको छ। उनले ‘लिड फ्रम द फ्रन्ट’ को अद्भुत उदाहरण दिँदै बलिङमा चमत्कारी प्रदर्शन गरिरहेका छन्।

चार खेलमा १५ विकेट लिँदै विपिन प्रतियोगिताको सर्वाधिक विकेट लिने बलर बनेका छन्। १.९४ को उत्कृष्ट इकोनोमी रेटमा बलिङ गर्दै उनले ३६ ओभरमा मात्र ७० रन खर्चिएका छन्। इन्डोनेसियाविरुद्ध उनले एक्लैले ६ विकेट लिए भने भुटानविरुद्ध ४ विकेट हात पार्दै विपक्षी ब्याटिङलाई तहसनहस पारे।

advertisement

खेल अनुसार प्रदर्शन: सिंगापुरविरुद्ध: १० ओभर, ३४ रन, ४ विकेट, जापानविरुद्ध: ८.१ ओभर, १७ रन, १ विकेट, इन्डोनेसियाविरुद्ध: ७.३ ओभर, १२ रन, ६ विकेट, भुटानविरुद्ध: १० ओभर, ७ रन, ४ विकेट लिएका थिए । यी आँकडाले उनको निरन्तरता र प्रभावशाली नेतृत्व क्षमतालाई प्रष्ट पार्छ।

एनपीएलबाट उदाएका विपिन शर्माले आफूलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमै एक सक्षम स्पिनरका रूपमा स्थापित गरिसकेका थिए। ट्यालेन्ट हन्टमार्फत कर्णाली याक्समा अनुबन्ध भएका उनले पहिलो खेलमै माइकल लेभिटको विकेट लिएर चर्चा कमाएका थिए।

चितवन राइनोजविरुद्धको दोस्रो खेलमा ३ विकेट लिँदै प्लेयर अफ दी म्याच बनेका उनी कर्णाली याक्सका प्रमुख बलिङ हतियार बन्न सफल भए। आठ म्याचमा १३ विकेट लिँदै उनी प्रतियोगितामा पाँचौं सर्वाधिक विकेट लिने बलर बने।

एनपीएलमा प्रभावशाली प्रदर्शनपछि उनलाई यु–१९ टिममा मौका दिइयो। अफगानिस्तानविरुद्धको सिरिजमा उनले मिश्रित प्रदर्शन गरे पनि निरन्तरता भने कायम नै राखे।

अबको लक्ष्य विपिनको नेतृत्वमा नेपाली यु–१६ टिम सेमिफाइनलमा पुगेको छ, जहाँ भोलि मलेसियासँग भिडन्त हुनेछ। यो सम्भवतः विपिनको यु–१६ टिमबाट अन्तिम टुर्नामेन्ट हो। त्यसैले उनले उपाधि जितेर टिमको विदाइ अविस्मरणीय बनाउने लक्ष्य राखेका छन्।

उनको समर्पण, संयमता र कौशलले अब उनलाई यु–१९ टिम र आगामी एनपीएल संस्करणमा ‘हेर्नैपर्ने खेलाडी’ बनाइसकेको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com