काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई तत्काल पदत्याग गर्न आग्रह गरेका छन्।
आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले लेखेका छन्, “धेरै ढिला भइसकेको छ, उनले अब तुरुन्तै राजीनामा दिनुपर्छ !”
पावेललाई ट्रम्पकै पहिलो कार्यकालमा फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गरिएको हो। तर त्यसयता ब्याजदर नघटाएको भन्दै ट्रम्प निरन्तर पावेलप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
यद्यपि, राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने संवैधानिक अधिकार छ वा छैन भन्ने विषय भने अझै स्पष्ट छैन।
यस वर्षको सुरुआतमा ट्रम्पले पावेललाई हटाउने योजना नभएको बताएका थिए। उनले भनेका थिए, “पावेललाई बर्खास्त गर्ने मेरो तत्कालीन योजना छैन।” तर सार्वजनिक रूपमा आलोचना भने निरन्तर जारी राखेका छन्।
ट्रम्पको मुख्य चाहना आर्थिक वृद्धि दर उच्च बनाउनेतर्फ केन्द्रित रहेको बताइन्छ। त्यसका लागि उनले केन्द्रीय बैंकले ब्याजदर घटाउनुपर्ने आवश्यकताको कुरा गर्दै आएका छन्।
तर फेड अध्यक्ष पावेलले भने केही फरक धारणा व्यक्त गर्दै आएका छन्। मंगलबार उनले एक कार्यक्रममा भनेका थिए, “यदि ट्रम्पका भन्सार (ट्यारिफ) नीतिहरूको नकारात्मक प्रभाव अर्थतन्त्रमा नपरेको भए, हामीले पहिल्यै ब्याजदर घटाइसक्ने थियौं।”
ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिकी अर्थनीति र केन्द्रीय बैंकको स्वायत्तता सम्बन्धी बहसलाई फेरि तातो बनाएको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया