काठमाडौं । एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत नेपाल र उज्बेकिस्तानबीचको अन्तिम खेल निर्णायक बन्ने भएको छ। लगातार दुई खेलमा सानदार जित दर्ता गरेका दुवै टोली अब अष्ट्रेलियामा हुने महिला एसियन कप २०२६ का लागि छनोट हुने अभियानमा एकअर्कासँग भिड्न लागेका हुन्।
छनोटको सबै खेल उज्बेकिस्तानमै भइरहेका छन्। नेपाल र घरेलु टोली उज्बेकिस्तानले लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६ अंक जोडिसकेका छन्। लगातार दुई खेलमा हार बेहोरेका लाओस र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हरायो। उज्बेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको छ। यससँगै दुवै टोलीले दुई खेलमा समान १७ गोल गरेका छन् र गोल नखाएको समानता पनि छ।
अब अन्तिम खेल समूह विजेता निर्धारण गर्नेछ। बराबरी भएमा एएफसीको नियम अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ, किनभने हेड-टु-हेड, गोल अन्तर, र कुल गोल सबै पक्ष बराबरी हुनेछ। यसैले उक्त खेल ‘अघोषित फाइनल’ बन्न पुगेको छ।
नेपाली टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले सुरुआती दुई खेलमा ह्याट्रिकसहित टोलीलाई जित दिलाएकी छन्। साम्बाले टिमको सामूहिक प्रयासले राम्रो नतिजा आएको बताउँदै उज्बेकिस्तानविरुद्धको खेललाई चुनौतीका रूपमा लिएको बताइन्।
‘अब मुख्य चुनौती बाँकी छ,’ उनले भनिन्, ‘हामी सबै खेलाडी सकारात्मक मानसिकतासहित फाइट गर्न तयार छौँ।’
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया